बैतडी,१५ साउन / सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको पाटनस्थित विमानस्थलमा डेढ वर्षदेखि हवाई उडान बन्द भएको छ । उडान बन्द हुँदा १६ करोड रुपियाँ खर्च गरेर बनेका विमानस्थल र टर्मिनल भवन लगायतका संरचना प्रयोगविहीन अवस्थामा पुगेका छन् ।
तीन वर्ष अघि ११ करोड रुपियाँ खर्च गरेर २० मिटर चौडाइ र ५८० मिटर लम्बाई रहेको विमानस्थल कालोपत्रे गरिएको थियो । तयपछि पाँच करोड खर्च गरेर टर्मिनल भवनसमेत गरी यहाँ राज्यको १६ करोड रुपियाँ खर्च भएको छ ।
धनगढी–बैतडी–धनगढी १७ मिनेट हवाई दूरीमा समिट एयरले चार हजार रुपियाँ भाडा लिएर उडान भर्दै आएकोमा २०७७ चैत १० गते यहाँ अन्तिम पटक उडान भएको थियो । हवाई उडान बन्द हुँदा बैतडीबाट आकस्मिक रूपमा प्रदेश राजधानी धनगढी जाने यात्रु र बिरामी समस्यामा परेका छन् ।
विमानस्थल कालोपत्रे हुँदा सुखी भएका बैतडीवासी उडान बन्द हुँदा निराश भएका छन् भने राज्यको करोडौँ रकम खेर गएको स्थानीय वसन्त विष्टले बताउनुभयो । सरकारले हवाई सेवा सुचारु गर्न सरकारी एयरलाइन्सलाई जिम्मेवारी दिनु पर्ने उहाँले बताउनुभयो ।
२०३६ सालदेखि २०५२ सालसम्म नियमित उडान हुने पाटन विमानस्थल द्वन्द्वका बेला २०५२ देखि बन्द रहेको थियो । विमानस्थल कालोपत्रे भएपछि डेढ वर्षअघि हप्ताको एक दिन बैतडी–धनगढी उडान भए पनि पनि पछिल्लो डेढ वर्षदेखि हवाई उडान ठप्प भएको छ ।हवाई उडान बन्द हुँदा दुर्घटनामा परेका व्यक्तिको आकष्मिक उद्धार गर्न कठिनाइ हुने गरेको छ ।