धनगढी,५ साउन ÷ धनगढी उपमहानगरपालिकाले हाजिर गर्न नदिएका स्वास्थ्यकर्मीहरु अन्याय भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेशमा निवेदन दर्ता गराएका छन् ।
हाजिर गर्न पाउनुपर्ने मागसहित उनीहरुले धनगढी उपमहानगरपालिकाले गम्भिर मानव उल्लंघन गरेको भन्दै निवेदन दर्ता गराएका हुन् ।
सिनियर अहेव भोजराज अवस्थी, जनस्वास्थ्य निरिक्षक अनिता खडका, सिनियर अहेव कृष्णबहादुर बोहरा, डिल्लीराज जोशी, जयकला रावल, सिनियर अनमि मिना पाण्डेयसहित ३३ जना पीडित स्वास्थ्यकर्मीहरुले आयोगमा निवेदन दर्ता गराएका छन् ।
‘प्रचलित कानुनी व्यवस्था बमोजिम समायोजन तथा समायोजन मिलान भएका कर्मचारीहरुलाई उक्त कानुनी व्यवस्था प्रतिकुल हुने गरी फिर्ता गर्न नमिल्ने भएकोले निजहरुलाई साविक बमोजिम हाजिर गराई व्यवस्थापन गर्न संघिय मन्त्रालयले निर्देशन दिँदा समेत उपमहानगरपालिकाले सो निर्णय कार्यान्वयन गरेको छैन’ निवेदनमा भनिएको छ –‘धनगढी उपमहानगरपालिकाले हाजिर गराउन इन्कार गरेको हुँदा संविधान प्रदत निर्वाध रुपमा पेशा वा व्यवसाय गर्न पाउने मौलिक हकको हनन भएको महशुस गरेका छौं ।’
धनगढीका प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठ र नगर प्रमुख गोपाल हमालले उनीहरुलाई अहिलेसम्म हाजिर गर्न नदिनु गम्भिर मानव उल्लंघन रहेको निजामति कर्मचारी संगठन कैलाली अध्यक्ष खेमराज जोशीले बताए ।