कञ्चनपुर,४ साउन ÷ कञ्चनपुर भन्सार कार्यालयले लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । आर्थिक वर्ष ०७९(८० मा ५८ करोड ९६ लाख ४८ हजार राजस्व संकलन गर्ने लक्ष्य राखिएको ४२ करोड ९ लाख ९९ हजार रुपैयाँ मात्रै संकलन भएको छ । जुन लक्ष्यभन्दा १६ करोड ८६ लाख ४९ हजार रुपैयाँ कम हो ।
भन्सार कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार पछिल्ला पाँच वर्ष लगातार लक्ष्यभन्दा कम भन्सार राजस्व संकलन हुँदै आएको छ । आर्थिक वर्ष ०७७र७८ मा मात्रै लक्ष्यभन्दा बढी भन्सार राजस्व संकलन भएको थियो । त्यो पनि अघिल्लो वर्षको तुलनामा लक्ष्य घटाएर प्रगति भएको पाइन्छ ।
गत वर्ष ७१ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको तथ्यांकअनुसार पछिल्ला पाँच वर्षयता भन्सार राजस्व क्रमिक रूपमा वृद्धि हुँदै गए पनि लक्ष्य भेट्न सकेको छैन ।
आर्थिक वर्ष ०७५(७६ मा ४० करोड १२ लाख ८४ हजार लक्ष्यमा ३६ करोड ६७ लाख ८८ हजार, ०७६(७७ मा ४८ करोड ६८ लाख ७५ हजार लक्ष्यमा २६ करोड २८ लाख ९३ हजार भन्सार राजस्व संकलन भएको थियो । उक्त आर्थिक वर्षमा ५४ प्रतिशत मात्रै भन्सार राजस्व संकलन भएपछि भन्सार विभागले अर्को आर्थिक वर्षमा लक्ष्य नै घटाएको थियो ।
कोरोना महामारीले आर्थिक वर्ष ०७६(७७ मा लक्ष्यभन्दा झन्डै आधा मात्रै भन्सार संकलन भएपछि भन्सार विभागले आर्थिक वर्ष ०७७(७८ मा लक्ष्य घटाएको थियो । उक्त आर्थिक वर्षमा ३५ करोड ६७ लाख ८८ हजार भन्सार राजस्व लक्ष्यमध्ये ३७ करोड ३९ लाख २३ हजार संकलन भएको थियोे । उक्त आर्थिक वर्षमा १०५ प्रतिशत भन्सार राजस्व संकलन भएको थियो । लक्ष्य घटाएको दोस्रो वर्ष ०७८(७९ मा पनि भन्सार लक्ष्यअनुरूप राजस्व संकलन हुन सकेन । उक्त आर्थिक वर्ष ५२ करोड ७७ लाख ६ हजारको लक्ष्यमध्ये ४६ करोड २२ लाख ४३ हजार भन्सार राजस्व संकलन भएको थियो । उक्त पाँच वर्षको वार्षिक अनुपात तुलनात्मक रूपमा भन्सार राजस्व वृद्धि हुँदै गएको छ ।
खुला सीमानाका भएकाले व्यवसायीले चोरी तस्करी गरेर सामान भित्र्याउने, ल्याएको सामान अनुरूप भन्सार नकाट्ने, भन्सारदेखि सीमा क्षेत्रमा खटिने प्रहरीको मिलोमतो जस्ता विविध कारणले भन्सार राजस्व लक्ष्यअनुरूप संकलन हुन सकेको छैन । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख ध्रुवबहादुर विश्वकर्माले सीमावर्ती जिल्ला भएर चोरी तस्करीदेखि बजारमा मागअनुरूप सामानको आपूर्ति नहुँदा भन्सार राजस्व संकलन हुन नसकेको बताए ।
‘कोरोना महामारीपछि अत्यावश्यक सामानबाहेक अन्य विलासिताका वस्तु–सेवाको बजारमा माग नै छैन,’ उनले भने, ‘बजारमा माग नै नभएपछि बाह्य क्षेत्रबाट सामान आयात घट्दै छ ।’
भन्सार प्रमुख विश्वकर्माले कञ्चनपुर भन्सार आयातमुखी भएकाले समेत राजस्व संकलन लक्ष्यअनुरूप नभएको बताए । उक्त नाकाबाट भारतमा हस्तकलाका वस्तु निर्यात हुने र भारतबाट कपडा, औद्योगिक मेसिनरी, हार्डवेयर, कृषि उपकरण, फलफूल, तरकारी, पेपर, किरानालगायतको सामान आउने गरेको छ ।