कैलाली , ३ साउन ÷ सुदूरपश्चिम र कर्णालीका विद्यालय बालबालिकालाई दिवा खाजाकालागि ल्याउन लागीएको विश्व खाद्य कार्यक्रमको चामल अखाद्य पाइएपछि भन्सार विभागले पुनः जाँच गर्न निर्देशन दिएको छ।
माघ १५ गते नेपालगञ्ज भन्सारमा आइपुगेको उक्त ५४ हजार किलो चामल गुणस्तरहीन देखिएपछि थन्किएको थियो । भन्सार विभागले पुनः एकपटक जाँच गर्न निर्देशन दिएसँगै नेपालगञ्ज भन्सार कार्यालयले चामलको जाँचका लागि खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, नेपालगञ्जमा स्याम्पल पठाएको छ। माघ १७ गते यही कार्यालयले उक्त चामल आयात गर्न नमिल्ने गुणस्तरहीन रहेको प्रमाणित गरेको थियो।
नेपालगञ्ज भन्सार कार्यालय, नेपालगञ्जका सूचना अधिकृत डिल्लुप्रसाद शर्माले भन्सार विभागले जनस्वास्थ्य र वातावरणमा कस्तो असर गर्छ, आयात गर्न मिल्छ कि मिल्दैन भन्ने जाँच गर्न निर्देशन दिएबमोजिम चामल जाँच गर्न पठाइएको जानकारी दिए। उनले यसअघि उक्त चामललाई फिर्ता पठाउने वा नष्ट गर्ने दुईवटा विकल्प रहेकाले त्यसबारे निर्णय हुन नसकेको बताएका थिए । भन्सार कार्यालयका अनुसार गत माघ १५ गते कन्टेनर नाकामा पुगेपछि गुणस्तर जाँच गर्न चामलको नमुना खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगञ्ज पठाइएको थियो।
प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा चामल भिजेको, गन्ध आएको र खान अयोग्य रहेको प्रतिवेदन बुझाएपछि ती कन्टेनरलाई सोही समयदेखि नाकामै रोकेर राखिएको थियो । भन्सार कार्यालयका अनुसार इटालीबाट ल्याइएको उक्त चामल भारतको कलकत्ताबाट तीन कन्टेनरमा नेपालगञ्जसम्म ल्याइएको हो। डब्लुबी ०३ डी ०१०७, डब्लुबी ११ सी ५९६०, एनएल ०१ एडी ७१०५ नम्बरका भारतीय कन्टेनरमा ल्याइएको चामल अस्वभाविक गन्ध आएको छ भने पुरै भिजेको अवस्थामा छ।
प्रज्ञापन पत्र नम्बर २२१५ बाट नेपालगञ्ज ल्याएको चामल सुदूरपश्चिम प्रदेशको कैलाली र कर्णाली प्रदेशको सुर्खेत पठाउन थालिएको थियो। चामल अहिले नेपालगञ्ज भन्सार परिसरको गोदाममा थन्किएको छ। उक्त चामल तत्काल नष्ट गरेर थप खाद्यान्न मगाउन र खाद्यान्नजस्तो संवेदनशील सामानमा लापरबाही गर्नेलाई कारबाही गर्न विभिन्न सङ्घसंस्थाले माग गरेका छन्। इन्सेक लुम्बिनी प्रदेशका प्रमुख भोला महतले राहतका नाममा मानव जीवन नै जोखिममा पर्ने कार्य हुन नदिन सम्बन्धित सबै निकाय सचेत हुनुपर्ने जनाउँदै अखाद्य सामग्री तत्काल नष्ट गर्न माग गरे । यसअघि २०७२ सालमा बाँकेको खजुरास्थित विश्व खाद्य कार्यक्रमको गोदाममा भण्डारण गरेर राखिएको ५१४ मेट्रिक टन दाल कुहिएको अवस्थामा फेला परेको थियो।