धनगढी, ३० असार/सुदूर पश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०र०८१ लागि ल्याएको बजेट आज पास हुदैछ ।असार १ गते प्रदेश सरकारले ल्याएको बजेटको बिरोधमा रहेका सत्तापक्ष नेपाली काँग्रेसका प्रदेश सभा सदस्यहरु बजेट पास गर्न एक मत भएका छन् ।
मुख्यमन्त्री तथा नेपाली काँग्रेसका संसदीय दलका नेता कमल बहादुर शाहले काँग्रेसका प्रदेश सभाका सदस्यहरुको गुनासो र मागहरु सम्बोधन गर्ने प्रतिबद्धतापछि सम्पूर्ण प्रदेश सभा सदस्यहरु बजेट पास गर्न एक मत भएका हुन् । प्रदेश सभामा नेपाली काँग्रेसा १८ जना सांसद छन् ।त्यस्तै नागरिक उन्मुक्ति पार्टीले बजेटका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । दुबै दलहरुका सांसदहरु प्रदेश सभा हल भित्र पुगिसकेका छन् । प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीका सात जना सांसद छन् ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक जारी छ । दुबै दल पनि बजेट पास गर्न सहमत भईसकेको बताइएको छ । मुख्यमन्त्रीले प्रतिपक्षी दलहरुसंगको बैठकमा प्रतिपक्षी दलका मागहरुको सम्बोधन गर्ने र बजेटमा भएका कमजोरी सच्याउने प्रतिबद्धता गरेपछि ती दुबै दल पनि बजेट पास गर्न सहमत भएका हुन् । यद्दपि दुबै दलको संसदीय दलको निर्णय केहीबेरमा आउदैछ ।प्रतिपक्षमा रहेको नेकपा एमालेका प्रदेश सभा सदस्यहरु पनि प्रदेश हल भित्र पुगिसकेका छन् । एमालेले भने बजेटको बिपक्षमा मतदान गर्ने भएको छ ।
बिहान ८ बजे बस्ने भनिएको प्रदेश सभाको बैठक दलहरुबीच छलफल जारी रहेका कारण दिउसो ३ बजे बोलाईयो । त्यसपछि ४ बजे सारियो । र, अन्तिममा ५ बजे बस्ने भनियो । एमालेका प्रदेश सभाहरु दिनभरी प्रदेश सभा हलकै वरिपरी रहे । पाँच बजेदेखि हलभित्र बसेका एमालेका प्रदेश सभा सदस्यहरु सत्तारुढ दलका सदस्यहरु नआएपछि साढे ६ बजे हलबाट बाहिरिएका छन् ।प्रदेश सरकारका एक मन्त्रीले बजेट आजै पास हुने बताए ।
सत्तारुढ दल काँग्रेसका १८, माओवादीका ११, नागरिक उन्मुक्तिका सात र समाजवादीका चार जना सांसद समेत गरी ४० जना सांसद बजेटको पक्षमा छन् । बजेट पास गर्न २७ जना सांसदको समर्थन आवश्यक पर्छ । बजेटको बिपक्षीमा नेकपा एमालको १०, राप्रपा र स्वतन्त्रका एकरएक जना गरी १२ जना सांसद छन् ।