धनगढी, २१ असार/नागरिक उन्मुक्ती सुदूरपश्चिम प्रदेशको सरकारमा सहभागि हुने भएको छ । बिहिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह र नागरिक उन्मुक्ति पाटीका संरक्षक रेशम चौधरीबीच बर्दियाको ठाकुरद्धारामा भएको वार्ताका क्रममा नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने सहमत भएको हो ।
नागरिक उन्मुक्तिका संरक्षक चौधरीसँग छलफलमा मुख्यमन्त्री शाहसंगै भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा पनि सहभागी थिए । वार्तामा नागरिक उन्मुक्तिका प्रवक्ता दामोदर पण्डित र प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का सांसद गङ्गा चौधरी पनि थिए ।
मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीलाई एक मन्त्री, एउटा समितिको सभापति र उप सभामुख दिने प्रतिबद्धता गरेका थिए । तर नाउपाका तर्फबाट दुई मन्त्री, दुईटा समितिको सभापति र उपसभामुख दिनु पर्ने माग राखिएको नाउपाका प्रवक्ता पण्डितले बताए।
कांग्रेसले नेतृत्व गरेको सुदूरपश्चिम प्रदेशमा अहिले कांग्रेस सहित माओवादी र नेकपा एकीकृत समाजवादी सरकारमा छन् । हाल दुई वटा मन्त्रालय, चार वटा सहमती र उप सभामुखको पद रिक्त छ । मुख्यमन्त्री शाह हाल रिक्त रहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी नागरिक उन्मुक्ति पार्टीलाई दिन सहमत भएका छन् । तर आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहको मृत्यु पछि रिक्त रहेको सो मन्त्रालय भने काँग्रेसले राख्ने भएको छ ।
वार्तामा सहभागी भौतिक पूर्बाधार विकास मन्त्री प्रकाश देउवाले नागरिक उन्मुक्ति पार्टीका तर्फबाट राखिएको प्रस्ताव केन्द्रीय गठबन्धनका शीर्ष नेतृत्वले टुंगो लगाउने बताए ।
