धनगढी, २८ जेठ/कैलारी गाउँपालिकाले पालिका भित्रका विद्यालयमा ५ दिन गर्मी बिदा दिने निर्णय गरेको छ। आइतबार एक सुचना जारी गर्दै गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरुमा जेठ २९ गते देखि असार १ गते सम्म बिदा दिने निर्णय गरेको हो। पछिल्लो समय अत्यधिक गर्मी बेढेकाले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा असर पर्ने देखियकाले हिउँदे वा बर्से बिदाबाट मिलाउने गरि बिदा दिइएको सुचनामा उल्लेख गरिएको छ।
गाउँपालिकाले विद्यालयहरुमा दादुरा रुबेलाविरुद्धको खोप लगाइरहेकाले खोप कार्यक्रमलाई असर नपर्ने गरि पठनपाठन कार्य नगराउन अनुरोध गरेको छ।
त्यसैगरी कैलालीको गोदावरी नगरपालिका भित्रका विद्यालयमा ५ दिनका लागि बिदा दिइएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै जेठ २९ गते देखि असार १ गते सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले एक सुचना जारी गर्दै गर्मीयाम लागेसंगै तापक्रम अत्याधिक वृद्धि भइ विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने सम्भावना भएकाले वर्षे र हिउँदे बिदाबाट मिलान हुने गरी गर्मी बिदा दिइएको उल्लेख छ।
सूचनामा दादुरा र रुवेला खोपका लागि निर्धारित कार्यक्रम भने यथावत रहने जनाइएको छ। तराइका जिल्लामा अत्याधिक गर्मी बढेपछि पछिल्लो समय विद्यालय धमाधम बन्द हुन थालेका छन्।