बैतडी, ११ कार्तिक । नेपालीहरुका ठूला चाड दशैं तिहार सकिएपछि सुदूरपश्चिमका पहाडी जिल्लामा जात्राको रौनक शुरु भएको । कार्तिक शुक्ल पक्षमा बैतडी,दार्चुला, डडेल्धुरा लगायतका शक्तिपीठ तथा मन्दिरहरुमा जात्रा लाग्ने गरेको हो । कार्तिक शुक्ल प्रतिपदादेखि पूर्णिमा सम्म विभिन्न शक्तिपीठ तथा मन्दिरमा जात्रा लाग्ने गर्दछ ।
दशैंको बेला जात्रा लागेका मन्दिरहरुमा समेत कार्तिक शुक्ल पक्षमा समेत पूजाआजा गर्ने चलन रही आएको छ ।कार्तिक शुक्ल पक्ष शुरु भएसंगै बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर, बाह्र ज्योर्तीलिङ्ग मध्येको केदारनाथ भनेर चिनिने रौलाकेदार मन्दिर, मेलौली भगवती मन्दिर, फाल्ङसैनी भगवती मन्दिर, शिवनाथ मन्दिर, महारुद्र मन्दिर, त्रिवणीधाम (राताशीला) मन्दिरमा जात्रा लाग्ने गर्दछ ।
यस्तै दार्चुलामा रहेको राष्ट्रकै सातौं धामको रुपमा रहेको मालिकार्जुन धाम, लटिनाथ लगायतका मन्दिरमा जात्रा लाग्ने गर्दछ । यस्तै डडेल्धुराको उग्रतारा र भागेश्वर लगायतका मन्दिरमा कार्तिक शुक्ल पक्षमै मेला लाग्ने गर्दछ ।
त्रिपुरासुन्दरी भगवती मन्दिर,रौलाकेदार, शिवनाथ, महारुद्र लगायतका मन्दिरमा कार्तिक शुक्ल अष्टमीका दिन मेला लाग्ने गर्दछ भने मेलौली भगवती, फाल्ङासैनी भगवती मन्दिर, उग्रतारा लगायतका मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । यसैगरी प्रसिद्ध मालिकार्जुन धाममा कार्तिक शुक्ल चर्तुदर्शीका दिन जात्रा लाग्ने गर्दछ ।