लम्की, २८ असोज । कैलाली लम्कीचुहा ३ बल्चौर बादी बस्तीका ८ जना किशोरीले निशुल्क उच्च शिक्षा पढ्न पाउने भएका छन । लम्कीचुहा नगरपालिका वडा नम्बर ३ ले ८ जना किशोरीको उच्च शिक्षाको जिम्मेवारी लभ एण्ड हप नेपाललाई सुम्पेको छ । बादी बस्तीका टुहुरा , बाआमा नभएका ८ जना किशोरीहरूलाई उच्च शिक्षा पढाउनका लागी काठमाडौँ पठाउने बताईएको छ।
उक्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष लब बहादुर शाहीले आफू वडा अध्यक्ष भैसके पछि बादी बस्तीका १२६ घरधुरीलाई लालपुर्जा दिएको बताउँदै बादी समुदायको ठूलो समस्या सानो उमेरमा विवाह गर्ने ,सानै उमेरमा बच्चा जन्माउने , हिजोका दिनमा यौन व्यवसाय पेशामा आकर्षण हुने थियो अहिले बिस्तारै त्यसको न्यूनीकरण भएको बताउनु भयो । साना नानीबाबुहरूलाई शिक्षित बनायौ भने पक्कै त्यस्ता गलत क्रियाकलाप समाजबाट हटेर जाने बताउनु भयो । साथै १४ वर्षका २ जना किशोरीलाई यौनजन्य पेशाबाट उद्वार गरेको वडा अध्यक्ष शाहीले बताउनु भयो ।
त्यस्तै लभ एण्ड हप नेपालका अध्यक्ष शम्भु पोख्रेलले लम्कीचुहा नगरपालिका वडा नम्बर ३ कार्यालय र वडा अध्यक्ष लब बहादुर शाहीलाई धन्यवाद दिदैँ लभ एण्ड हप नेपालले ११ जिल्लाका तीन सय भन्दा धेरैलाई पढाइ रहेको बताउँदै । बल्चौरका बादी बस्तीबाट पनि ८ जना किशोरीको अभिभावक हामी बन्न तयार रहेको तर वडा कार्यालय र ८ जना किशोरीका अभिभावक साक्षी बसाएर आफूले उच्च शिक्षाका लागी काठमाडौँ लिएर जाने बताए ।
कार्यक्रममा बोल्दै बादी समुदायककि नेता रमा बादीले ८ जना किशोरीको अभिभावक आफू भएको र केही समस्या पर्दा आफूलाई सम्झिन अनुरोध गर्दै लभ एण्ड हप नेपाललाई धन्यवाद दिदैँ बादी बस्तीको पीडामा मलम लगाउने काम गरेको बताउनु भयो । निशुल्क उच्च शिक्षा पढ्न पाउने भए पछि किशोरी खुसी र उत्साही भएका छन ।