दार्चुला,२७ असोज । तीन महिनादेखि हिरासतमा रहेका सशस्त्र प्रहरीका हवल्दार नरेश साहु हिरासतमुक्त भएका छन्। उनलाई संगठनका गोप्य सूचना चुहाएको आरोपमा सशस्त्रले कारबाही अगाडि बढाएको थियो।
तर सशस्त्रको अदालतले आरोप पुष्टि नहुने ठहर गर्दै फैसला गरेपछि उनलाई बुधबार हिरासतमुक्त गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी पुरूषोत्तम थापाले बताए ।
‘उहाँमाथि जे आरोप लगाएर कारबाही अगाडि बढाइएको थियो त्यो पुष्टि भएन। हिजै हिरासतमुक्त गरिएको छ अब विभागीय कारबाही मात्रै हुन्छ। तर के कारबाही हुन्छ भन्ने फैसलाको पूर्णपाठ आएपछि थाहा हुन्छ’, थापाले भने।
हवल्दार साहु हाल निलम्बनमा छन्। उनलाई जागिरबाटै बर्खास्त गर्न लागिएको भन्दै सशस्त्रको आलोचना भएको थियो। असार २२ गते उनीविरुद्ध मुद्दा दर्ता भएको थियो।
दार्चुलास्थित महाकाली नगरपालिका–२ मुल्लाका सशस्त्र प्रहरी हवल्दार साहुले सशस्त्रको ४४ नम्बर गणका सशस्त्रलाई बिदामा छाडेर रासनभत्तामा अनियमितता गरेको सूचना बाहिर ल्याएको आरोप लागेको थियो।
गणभित्रको हाजिरी विवरणसहित सार्वजनिक भएपछि सशस्त्रले छानबिन गर्दै उनलाई प्रारम्भिक रुपमा दोषि रहेको भन्दै हिरासतमै राखेर कारबाही अगाडि बढाइएको थियो।सशस्त्रले भने उनले हातहतियार र गोलीगठ्ठासहितको विवरण अनधिकृत व्यक्तिलाई उपलब्ध गराइएको आरोप लगाएको थियो।