बाजुरा १५ असोज/बाजुराको बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिका बाजुरा जिल्ला कारागारमा रहेका कैदी बन्दीहरुलाई खसी उपहार दिएका छन् । कारागारमा रहेका कैदी बन्दीहरुलाई दशैं मनाउन उपहार स्वरुप खसी सहयोग गरिएको हो ।
बुढीगंगा नगरपालिकाका तर्फबाट नगर प्रमुख रामबहादुर बाँनीया र उपप्रमुख माया कुँवरले संयुक्त रुपमा खसी उपहार दिएका हुन् । बाजुरा कारागारमै पुगेर कारागार कार्यालयका चौकीदार रुपेश रावतलाई हस्तान्त्रण गरिएको बुढीगंगा नगरपालिका १० का वडाध्यक्ष दलबहादुर साउँदले बताए ।कारागारमै पुगेर बुढीगंगा नगरपालिकाका नगरप्रमुख बानियाँले कारागारका जेलर हंस बोहरा, चौकीदार रुपेश रावत र नाईके विरेन्द्र रावत मार्फत कैदीबन्दीलाई दशैं मनाउन खसी उपहार दिइएको हो । उक्त अवसरमा कारागारमा रहेका बन्दीहरुले आफै बुनेको टोपी प्रमुख र उपप्रमुखलाई उपहार दिएका थिए । बुढीगंगा नगरपालिकाले २० हजार बराबरको खसी र खेलकुदका सामाग्री सहयोग गरेको छ ।
यस्तै, खप्तड छेडेदह गाउँपालिकाले पनि कारागारका कैदीबन्दीलाई एउटा खसी र खेलुकदका सामाग्री उपलव्ध गराएको छ । गाउँपालिकाकी उपाध्यक्ष विशुदेवी नाथको नेतृत्वमा कारागारमै पुगेर जेलर, चौकीदार र नाईके मार्फत कैदी बन्दीलाई खसी उपहार दिएकी हुन् । हाल कारागारमा ५६ जना कैदीबन्दी रहेका छन् ।