धनगढी १३ असोज/ धनगढीमा स्कारपियोले मोटरसाइकल र साइकललाई ठक्कर दिदा चार जना घाइते भएका छन् । शरीदगेट–क्याम्पस गेट रोड अन्तरगत धनगढी उपमहानगरपालिका–५ कर्भडहल नजिकै स्कारपियोले ठक्कर दिदा चार जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले से १ प२०६९ नम्बरको स्कारपियोले सुपप्र ०१००९ प ९६७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा तीन जना घाइते भएको जानकारी दिए ।उनकाअनुसार स्कारपियोले साइकललाई समेत ठक्कर दिएपछि साइकलमा सवार व्यक्ति पनि घाइते छन् ।
ठक्कर दिने उक्त स्कारपियो धनगढीकै २९ वर्षीय रमेश डगौरा चलाइरहेका थिए भने मोटरसाइकल ३२ वर्षीय खेम बहादुर राईले चलाइरहेका थिए। यस्तै स्कारपियोले सडक छेउबाट गइरहेका ५४ वर्षीेय साईकलयात्री पदमराज पनेरुलाई पनि ठक्कर दिएको प्रहरीले बताएको छ।
घाइते हुनेमा मोटरसाइकल चालक, मोटरसाइकलमा पछाडी सवार चालककी श्रीमती, पछाडी सवार उनीहरुकी छोरी र साईकलयात्री रहेका छन्। डिएसपी जोशीकाअनुसार मोटरसाइकल चालकको खुट्टामा चोट लागेको छ। यस्तै मोटरसाइकलमा पछाडी सवार चालककी श्रीमती पुष्पा राईको टाउको र हातखुट्टामा चोट लागेको छ। त्यस्तै उनीहरुकी ११ वर्षकी छोरी रेविका राईलाई पनि चोट लागेको छ।