काठमाण्डौ ५ असोज/ स्वास्थ्य सेवा सुधारका माग राखेर धनगढीमा अनशन बसेको १० औं दिन डा. गोविन्द केसी उपचारका लागि काठमाडौं गएका छन् ।अनशनका क्रममा स्वास्थ्यमा समस्या आएपछि उनी श्री एयरलाइन्सको विमानबाट काठमाडौं गएका हुन् ।
काठमाडौं आएका उनलाई विमानस्थलबाट सिधै शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । सिकिस्त हुँदा पनि अनशन तोड्न नमानेका उनले शिक्षण अस्पतालमा नै अनशनलाई निरन्तरता दिने बताएका छन् ।
सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भन्दै उनलाई यसअघि नै विशेषज्ञहरु भएको अस्पतालमा लैजान आग्रह गरेको थियो । जस अनुसार हिजो मंगलबार उनलाई लिन नेपाली सेनाको स्काई ट्रक धनगढी आएको थियो । तर उनले आफू ठिक रहेको भन्दै काठमाडौं नफर्कने अडान लिएका थिए । त्यसपछि स्काइ ट्रक रित्तै फर्केको थियो । तर आज भने उनी काठमाडौं जान तयार भएका हुन् ।