धनगढी, ११ जेठ । धनगढीमा सवा करोड रुपैयाँ लगानीमा रेमण्ड शप सञ्चालन हुँदैछ । मोडर्न तयारी पोशाक र सुटगढी सञ्चालन गर्दै आएका प्रकाश दर्जीले पहिरन सम्बन्धी आफ्नो व्यवसायमा रेमण्ड शप थपेका हुन ।
सुटगढी रहेको भवनमा रेमण्ड शप सञ्चालन हुन लागेको हो । बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सपको उद्घाटन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलन गरेर दर्जीले बताए । उनका अनुसार रेमण्ड सपमा आइएसओ सर्टिफाइड रेमण्ड ब्राण्डको कपडामात्रै राखिने छ । रेमण्ड विश्वमै लोकप्रिय भारतको कम्पनी हो । सो उद्योगले उत्पादन गर्ने कपडा प्रतिमिटर चार सय रुपैयाँ भारुदेखि लिएर तीन लाख भारुसम्म पर्ने गरेको जनाइएको छ । धनगढीमा प्रतिमिटर एक हजार छ÷सात सयदेखि १०÷११ हजार रुपैयाँ रेमण्डको कपडा राखिएको दर्जीले बताए ।
रेमण्डको फेबरिक धनगढीको लागि एकदम नयाँ रहेको उनले जनाए । धनगढीमा रेमण्ड शप नेपालकै तेस्रो वा चौथो रहेको बताए । ‘काठमाण्डौं, नारायणघाटमा रेमण्ड शप छ तर, धनगढीका लागि बिल्कुलै एकदम नयाँ हो’, दर्जीले भने ।
धनगढीको रेमण्ड शपमा २५÷२६ जनाले रोजगारी पाउने जनाइएको छ । मोडर्न तयारी पोशाक २०५१ सालमा कञ्चनपुरको महेन्द्रनगरबाट सुरु भएको थियो । दुई मेशिनबाट सुरु भएको सो पसल फष्टाउँदै २०६४ बाट धनगढीमा आफ्नो सेवा सुरु गरेको थियो । ग्राहकको चाहनालाई मध्यनजर गरेर २०६९ बाट सुटगढीसमेत सञ्चालन गर्दै आएको छ ।