काठमाडौँ, २९ चैत । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा ४ महिनाकी शिशुको मृत्यु भएको छ।मंगलबार बिहान साढे ४ बजे सुर्यविनायक नगरपालिका ९, नलिञ्चोकमा मोटरसाइकल दुर्घटना भएको हो।
साँगाबाट जगातीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी राजु पाण्डेले जानकारी दिए।
मोटरसाइकलमा सवार काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका १ का २२ वर्षीय बुद्ध तामाङ र पछाडि बसेकी उनकी श्रीमती २१ वर्षीया सुस्मिता तामाङ घाइते भएका छन्।
उनीहरुकी ४ महिनाकी छोरी लोसाङ डोल्मा तामाङलाई उपचारका लागि सुरुमा सिद्धि स्मृति अस्पताल लगिएको थियो भने त्यहाँबाट न्युरो अस्पताल पठाइयो। तर उपचारका क्रममा बिहान ९ बजे उनको मृत्यु भएको डीएसपी पाण्डेले बताए।