काठमाडौँ, २१ चेत । सशस्त्र प्रहरी निरीक्षकको भर्नामा प्रक्रिया मिचिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ। आइतबार १० जनाले दायर गरेको रिटमाथि आज (सोमबार) सुनुवाइ हुने भएको छ।प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा पेशी तोकिएको छ। सशस्त्र प्रहरी निरीक्षकको लिखित परीक्षामा उत्तीर्ण भए पनि गुणात्मक परीक्षामा फालिएको भन्दै उनीहरुले रिट दायर गरेका हुन्।
२०७८ भदौ ११ गते सशस्त्र प्रहरीमा ७५ जना निरीक्षकको लागि विज्ञापन गरिएको थियो। छनौट प्रक्रियाको पाँचौं चरणको लिखित परीक्षासम्म पुग्दा ६५ जना उम्मेदवार मात्रै उत्तिर्ण भएका थिए। त्यसपछि भएको गुणात्मक परीक्षामा १६ जनालाई अनुत्तीर्ण गराइएको उनीहरुको रिटमा उल्लेख छ।
७५ जना आवश्यक भए पनि ४९ जना मात्रै उत्तीर्ण भएका थिए। ‘यो छनोट परीक्षा सञ्चालन विधि, त्यसमा थप गुणात्मक परीक्षा लिने मानिस र परिणाम प्रकाशनमा भएको त्रुटिको कारण हामी असफल भयौं, बनाइयो। यसको उपचारको लागि अरु कुनै उपायहरु नभएकाले सम्मानित अदालतको शरणमा आएका छौं’, निवेदकले भनेका छन्।
छनौट गर्ने व्यक्ति लोक सेवा आयोगका सदस्य बाहेक र नेपाल सरकारका कर्मचारी बाहेकका व्यक्तिलाई राखिएको भन्दै यो कानुन विपरीत भएको उनीहरुको जिकिर छ।यसअघिका भर्ना प्रक्रियामा आवश्यक संख्या अनुसार नै लिखित परीक्षामा पास हुनेहरु गुणात्मक परीक्षामा पनि उत्तिर्ण हुने गरेको भन्दै यसपटक आफूहरुमाथि अन्याय भएको जिकिर गरिएको छ।
लिखित परीक्षामा खुला र आरक्षण तर्फ नै नाम निकालेकाहरुलाई पनि प्रयोगात्मक परीक्षामा असफल बनाइएको उल्लेख छ।ऐनले नै नचिनेका व्यक्तिहरुले लिएको परीक्षा गैरकानुनी भएकाले नतिजा बदर गरी सशस्त्र प्रहरी ऐन २०५८ को दफा ११ बमोजिम योग्य परीक्षकबाट सञ्चालन गर्न परमादेश जारी गर्न माग गरिएको छ।
छनोट प्रक्रिया नै अहिले पनि चलिरहेको र अहिले अन्तर्वार्ता भइरहेकाले यो छनोट प्रक्रिया तत्काल रोक्का राख्न अन्तरिम आदेश माग गरिएको छ।
