धनगढी, ३ चैत / बर्षौदेखि डुबानको समस्या झेल्दै आइरहेको धनगढी उपमहानगरपालिका वडा नम्बर २ र ३ का जनतालाई राहत हुने भएको छ ।
धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड र उपमेयर सुशील मिश्र भट्टले बिहीवार पानी निकासका लागि उच्च स्तरको ढल प्लास्टिक पाइप बिच्छ्याउने कामको शिलान्यास गरेका छन ।
शिलान्यास गर्दै मेयर वडले बर्षौदेखी डुबानको समस्या झेल्दै आईरहेका २ र ३ वडा बासीलाई डुबानबाट छुटकारा मिल्ने बताए । उनले आफु मेयरमा निर्वाचित भएपछि डुबानको समस्या समाधान गर्ने प्रतिबद्धता गरे अनुरुप अहिले उक्त काम भैरहेको बताए ।
स्थानीय बासीलाई नै उक्त काम गर्न दिएको बताउदै मेयर वडले स्थानीय उपभोक्ता समिती मार्फत काम गर्दा समयमै काम सप्पन्न हुने कुरामा आफू ढुक्क रहेको बताए ।
स्थानीय अजब बहादुर शाही र मैना बोहराले बर्षौदेखी आफुहरुले डुबानको समस्या झेल्दै आइरहेको बताए । उनीहरुले डुबानको समस्याको बारेमा आन्दोलन समेत गरेको बताउदै अहिले ढल प्लास्टिक पाइप निर्माणले डुबानको समस्या अन्त्य हुने भन्दै खुशी ब्यक्त गरे ।
उपमहानगरपालिकाको करिब २ करोड ७० लाख र उपभोक्ताको करिब ५ लाख रुपैयाको श्रमदान सहित २ करोड ७५ लाख रुपैयाको लागतमा १ हजार २ सय मिटर लामो ढल प्लास्टिक पाइपको काम उपभोक्ता समितिले बैशाख मसान्तसम्म सक्नेगरी सम्झौता भएको उपमहानगरपालिकाका डिभिजन इन्जिनियर दीजराज भट्टले बताए ।
उनले मोहना-अत्तरिया ६ लेन सडकको वडा नम्बर ३ तर्फबाट उक्त नाली मोहना नदीमा लगेर मिसाइने बताए । ढल प्लास्टिक पाइप एकदमै बलियो हुने बताउदै इन्जिनियर भट्टले लोड ट्रक समेत गुड्दा केही फरक नपर्ने बताए ।