धनगढी, २ चैत । होली पर्वमा जबरजस्ती रङ दल्ने र लोला हान्ने जस्ता क्रियाकलाप नगर्न कैलाली प्रहरीले आग्रह गरेको छ। रमाइलो तथा मनोरञ्जनका नाममा हुनसक्ने उच्छृङ्खल तथा अपराधिक गतिविधि हुन वा गर्न नदिन सबैले सुरक्षाका उपायहरुमा ध्यान दिन आग्रह गरिएको हो।
पर्वलाई मर्यादित रूपमा मनाउनुपर्ने भन्दै इच्छाविपरीतका कार्य भए प्रहरी कानुनी रूपमा कारवाही गरिने समेत प्रहरीले चेतावनी दिएको छ। साथै सार्वजनिक स्थानमा मदिरा सेवन गरी हो–हल्ला, समूहगत झैझगडा र क्षमताभन्दा बढी यात्रु राख्नेविरुद्ध पनि कारबाही हुने जनाइएको छ।
