धनगढी , २३ फागुन । विसं २०७० अघि बनिसक्नुपर्ने सभागृह पाँच वर्ष ढिलोगरी सम्पन्न भए पनि अझै सञ्चालनमा आउन सकेको छैन्। कञ्चनपुरको महेन्द्रनगरमा १३ वर्षअघि निर्माण थालिएको सभागृह ९सिटीहल० मा करोडौँ रुपैयाँ खर्च गरिए पनि त्यसलाई सञ्चालनमा ल्याउने विषयमा सरोकारवाला निकायको ध्यान पुगेको छैन्।
तत्कालीन महेन्द्रनगर नगर विकास समितिको लगानीमा यहाँ ठूला सभा, सम्मेलन तथा अन्य प्रयोजनका लागि बजारको मुटुमै पाँच बिघा जमिनमा सभागृह निर्माण थालिएको थियो। नगरविकास समिति यहाँको भीमदत्त नगर विकास समितिका रुपमा स्वामित्व प्रदान गरिए पनि उक्त समितिले सभागृह सञ्चालनका लागि मापदण्डसमेत बनाउन सकेको छैन्। सभागृह निर्माणको जिम्मेवारी पाएको श्यामसुन्दर र गौरी पार्वती जेभीले २०७५ जेठमा निर्माण सकेको थियो। दश वर्षमा पाँच पटक म्याद थप भएर बनेको सभागृह सुरुआतमा रु छ करोड ८१ लाखमा ठेक्का आह्वान भएको थियो। पछि सभागृहको लागत बढेको हो।
यहाँको भीमदत्त नगरपालिकाका सूचना अधिकृत हरिसिंह धामीले नगर विकास समितिले चाँडै मापदण्ड बनाएर सञ्चालन गर्ने तयारी थालेको बताए। “मापदण्ड बनेपछि समितिले स्वीकृत गरेर सञ्चालनका लागि अग्रसर हुन्छ”, उनले भने, “अहिले पालिकास्तरको भूमिसम्बन्धी काम अस्थायी रुपमा सभागृहबाट हुँदैछ।” अपाङ्मैत्री सभागृहमा एक हजार मान्छे अटाउने क्षमता रहेको छ।