पोखरा,१० फागुन । गत आइतवार परेको असिना पानीले पोखरामा ११ करोड रुपैयाँ बराबरको क्षति भएको छ । बाक्लो असिनापानीका कारण केही जनावर मरेका र तरकारी तथा फलफूलसहित बालीनालीमा क्षति पुगेको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ ।
पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडारियाले पोखरा वडा नम्बर ९, ११, १३ र १८ मा धेरै क्षति भएको र अन्य वडामा सामान्य क्षति भएको बताए ।उनले असिनाका कारण यस वडामा तरकारी बाली, नगदे बाली, फलफूल, तोरी, आलु लगायतका बालीमा पूर्ण क्षति पुगेको जानकारी दिए ।
पोखरा महानगरका कुल ३३ वडामध्ये २ हजार १ सय ८१ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ । फलफूल ३ सय २० हेक्टर क्षेत्रफलमा, आलु १ हजार २ सय ५३ हेक्टर क्षेत्रफलमा उत्पादन हुने गरेको छ । पोखरामा गएको फागुन ८ गते आइतवार दिउँसो असिना पानी परेको थियो ।