धनगढी २ फागुन/समुदायमा लैगिंक हिंसा रोकथामका लागि निगरानी समुह गठन गरिएको छ । धनगढी उपमहानगरपालिकाको महिला शाखाको अगुवाइमा सीएमसी नेपालको समन्वयमा उपमहानगरपालिकाको वडा नम्बर ४ भगवती टोलमा सोमबार निगरानी समिति गठन गरिएको हो ।
ईश्वरी पनेरु भट्टको संयोजकत्वमा ९ सदस्यि निगरानी समिति गठन गरिएको छ । समितिको सल्लाहकारमा मिना पनेरु, दुर्गा पनेरु र गिता पनेरु चयन भएकाछन् । कार्यक्रममा ३० जनाभन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो ।
महिला शाखा प्रमुख अनिता बुढा ऐरले निगरानी समहु गठनको महत्व बारे बताएकी थिइन । समुदायमा लैगिंक हिंसाकै कारण महिलाहरु समस्यामा परेकोले उनीहरुको सहजताको लागि निगरानी समुह आवश्यक भएको उनले बताईन् । हिंसामा परेका महिलालाई सहयोग गर्न भनेर नगरापालिकाले सेफ हाउस (सुरक्षित घर) संचालन गर्न लागेकोले हिंसामा परेका महिलाको केश पत्ता लगाउन सजिलो होस भनेर निगरानी समुह गठन गरिएको हो ।
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सीएमसी नेपालका कैलाली जिल्ला मनोसामाजिक परामर्शकर्ता धनराज बिकले धेरै महिलाहरु अहिले पनि लैगिंक हिंसाको समस्यामा रहेको बताए । युएनएफपिए र आइपासको सहयोगमा सीएमसी नेपालको सहकार्य तथा धनगढी उपमहानगरपालिकाको नेतृत्वमा संचालन गरिएको लैगिंक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाको उद्येश्य बारेमा जानकारी दिएका थिए ।
सहायक महिला विकास निरिक्षक नमिता रावलले सहजीकरण गरेको कार्यक्रमका सहभागीले समुदायमा हिंसाका घटना घटेपनि न्यायको लागि बाहिर आउन नसकेको सहभागी मिना पनेरुले बताईन् ।