सरस्वती साफरी
धनगढी, १८ कार्तिक । यतिबेला फूलैफूलको पर्व भनेर चिनिने नेपालीहरुको दोस्रो ठूलो चाड तिहारले सबैतिर छाइसकेको छ । बजारमा फूल र फूलसँग सम्बन्धित चहलपहल सुरु भइसकेको छ ।
तिहारलाई रमाईलो पर्वका रूपमा पनि लिईन्छ । तिहारमा देउसी भैलो खेलेर रमाईने गरिन्छ । पछिल्लो समय भने देउसि भैलो खेल्ने शैली परिवर्तन हुदै गएको छ ।
देउसी भैलो खेल्ने शैलीमा आएको परिवर्तनले पुराना पुस्ता भने निराश छन् । अहिलेको देउसी–भैलो मन नपर्नुको कारण हो भैलो भट्याउनेको आशिषे ज्ञान नहुनु र डिजेमा र्याप गीत लगाएर नाच्नु । अहिलेको देउसी भैलोमा मौलिकता हराउँदै गएको भन्दै चिन्तित छन् । धनगढीकी भागरथी मल्लले भनिन,‘अहिले भैलोमा मौलिकता छाडेर डिस्को नाचिन थालिएको छ ।’
परम्परागत देउसी भैलोमा भट्याउने व्यक्तिले घरबेटीलाई आशिष दिने गरिए पनि अहिलेका भने डिजेमा गीत मात्रै बजाएर नाच्ने गरेको उनले बताइन । भैलो संस्कृतिमा पछिल्लो समयमा तोकेर पैसा माग्ने, मदिरा सेवन गरेर अश्लिल गीतमा नाच्ने जस्ता विकृति फैलिएको भन्दै उनले दुखेसो पोखीन ।
‘
देउसी भैलोेमा आशिष दिएर पो दक्ष अनुसार दिएको दान लिनुपर्छ,’ उनले भनिन, ‘तर, अहिलेका युवायुवती देउसी–भैलोमा तोकेरै पैसा मागेको देख्दा दुःख लाग्छ ।’
धनगढी वडा १२ जुगेडा गाउकी फुलमाया पलमपाकी मगरलाई पनि अहिलेको भैलोे खल्लो लाग्न थालेको छ । भैलोेमा डिस्को नाचभन्दा उनलाई पुरानै परम्परागत भैलो नै मन पर्छ । तिहार आउँदा उनलाई बाल्यकालका स्मरण ताजा बन्दै मादलको तालमा, नाचेका र गाएका दृश्य झलझली सम्झन्छन् । ‘उहिलेका भैलो रमाइला हुन्थे । तर, अहिले डिजे, साउण्ड बक्समा देशी–विदेशी गीतमा कानै फुट्लाझैँ बजाएर नाचेको पटक्कै मन पर्दैन,’ उनले भनिन । उनीहरू मात्र होइन, पुरानो पुस्तालाई अहिलेको देउसी–भैलो मन परेको छैन ।
परिवारलाई आशिष दिँदै कम्मर मर्काइमर्काइ मादल, खैजेरीको तालमा नाचेको दृश्य नै रमाइलो लाग्ने गरेको फुलमाया पलमपाकी मगरले बताइन् । युवापुस्ताले आधुनिकताका नाममा विदेशी संस्कृति भित्याउदै भैलोलाई पैसा कमाउने बाटो बनाएको उनको टिप्पणी छ ।
उनी भैलो जस्तै मगर समुदायको सोरठी, पैसेरी, टप्पा नृत्य लोप भएकोमा चिन्तित छिन् । ‘अहिले देउसीभैलोलाई कमाउ धन्दा बनेकोमा पुरानो पुस्ता चिन्तित छन ।’ लक्ष्मीपूजादेखि भाइटीकासम्म लगातार मगर समुदायको गाउँमा नाचिन्छ । नृत्यसँगै पैसेरी, टप्पा, सोरठी पनि नाच्ने गरिएको पुरानो पुस्ता बताउँछ । भैलोेमा पुराना कुराभन्दा आधुनिक विकृति विसंगतिलाई बढी प्राथमिकता दिएको बताउँदै त्यतिबेलाको देउसी–भैलोे शालिन, सभ्य र संस्कृतिका लागि खेलिन्थ्यो भने आधुनिक भैलोे समूह बनाएर पैसा कमाउने माध्यमका रूपमा खेलिन थालिएको धनगढीका कविन्द्र बोगटीले बताए ।’
उनले भैलोको मौलिकता बचाउन भन्दा पनि विकृति ल्याउन थालेको भन्दै युवापुस्ता प्रति चिन्ता व्यक्त गरे । ‘युवाहरुले संस्कृति बचाउने नाममा विकृति ल्याएको छन्,’ उनले भने,‘परम्परागत भैलो संस्कृति बचाउन सबैले जाग्नुपर्छ ।’
ज्योतिषी खेम मिश्र भन्छन देउसी–भैलोेलाई अँध्यारोलाई उज्यालो पार्ने पर्वका रूपमा अथ्यााउँछन् । सांसारिक अँध्यारो मात्रै नभई पवित्र भावनाले आफूभित्र भएको कुरीति, कुसंस्कारको अँध्यारो हटाउँदै एक अर्काबीच सहयोग गर्ने भावना ल्याई मन उज्यालो बनाउने र सामाजिक सद्भावको पर्वका रूपमा भैलोेलाई लिइएको उनले बताए । ‘
छरछिमेकबीच वर्षभर भएका झैँझगडा, वैमनस्यता, मनमुटाव बिर्सेर सबैको घरमा गई आशिष दिँदै दान थाप्नु नै सामाजिक सद्भाव हो,’ उनले भने । भैलोको नाममा विकृति भित्र्याएको र परम्परागत भैलो गीत विर्सदै डिजेमा नाच्नु भैलोको मौलिकता नभएको उनको भनाइ छ ।