झलनाथ खनाल, टीकापुर, १६ कातिर्क । कर्णाली नदीमा २०४० सालमा आएको बाढी अझै पनि विस्थापितहरुको मनमा गढेर बसेको छ। त्यतिबेलाको बाढीले करोडौंको क्षतिमात्रै गरेन, कैयौं परिवार विस्थापित पनि भए। कर्णाली नदीको तटीय क्षेत्रमा निकै ठूलो चुनौती थप्यो। त्यतिबेला नागरिकहरू सहरभन्दा घाँस दाउरा गर्न सजिलो र गाई बस्तु चराउन सजिलो ठाउँलाई बढी रोज्थे। त्यसैले पनि कर्णाली नदीको तटीय क्षेत्र विशेष थियो। नजिकै जंगल भएका कारण पशु चौपायालाई बिहान लिएर जंगल छोडेपछि साझ ल्याउन जानू पर्दैनथ्यो।
२०४० सालको बाढीका कारण विस्थापित हुनुभएका बन्धु डगौंरा थारुको ३५र४० वडा बाख्रा फार्म, अन्नपात सबै बाढिले बगाएर विस्थापित भएका बन्धुलाई बाढीले निकै चिन्तित बनायो। उसो त वर्षातको समयमा सधै चिन्तामा रहने कर्णाली नदीको तटीय क्षेत्रका स्थानीयहरुलाई बाढीले निकै सताउँदै आएको थियो। २०४० सालको बाढीमा त बन्धुको मात्रै होइन त्यहाँ बसोबास गर्ने कसैको केही बचेन। बन्धु बसोवास गर्दै आएको उक्त क्षेत्रको नाम टीकापुर थियो। त्यसैको नामबाट हालको बजार क्षेत्रको नामाकरण टीकापुर गरिएको बन्धु बताउँछन्।
छ वर्षसम्म विस्थापित भएको त्यो बस्ती स्थानान्तरणका लागि धेरै प्रयासहरु भए। अन्तिममा गाउँका बडघर समेत रहेका बन्धुको प्रयासमा त्यहाँको बस्ती नयाँ टीकापुरमा सर्यो। बस्ती स्थानान्तरणका लागि पनि बन्धुलाई निकै सकस भयो। “बर्खाको दुई महिनाको पीडा मानिसहरू क्षण भरमै भुलिहाल्थे। अरु दिनहरूमा त्यहाँका नागरिकहरुलाई धेरै सहज थियो,” बन्धुले भने, “त्यहीँ सहजताका कारण पनि त्यो ठाउँ कसैले छोड्न मानेनन्। अन्तिममा थारु समुदायका ६र७ घरहरुबाट जग्गाको लालपुर्जा कब्जा गरेर त्यो बस्ती सार्न सफल भएका थियौ।”
तत्कालीन टीकापुर नगर विकास समितीले बाढी प्रभावित क्षेत्रका जस्को जति जग्गा थियो त्यहीँ बराबरको जग्गा बाढीबाट विस्थापित परिवारलाई उपलब्ध गराएको थियो। बन्धुले त्यतिबेला नयाँ टीकापुरमा २५ बिगाहा जग्गा प्राप्त गरेको बताउँछन्। “वर्षायाममा सधै रातभर चैनको निद्रा सुत्न पाइदैन थियो। सबै त्रासमा हुन्थ्यौँ।” बन्धुले भने, “वस्ती सार्नेबेलामा मलाई धेरैले गाली गरे। कतिसँग बोलचाल नै बन्द भयो। अहिले त्यहाँबाट बसाई सरेर आएकाहरु करोडौंका मालिक बनेका छन्।” उनले २५ बिगाहा जग्गा प्राप्त गरेको भएपनि अहिले बन्धुसँग एक कठ्ठा जग्गामात्र बाकी छ। उनले बेचेको जग्गाहरुमा अहिले घना बस्ती देख्न सकिन्छ।
त्यस्तै कर्णालीको तटमा रहेको अर्को भगरैयाँ गाउँ पनि टीकापुरको बस्ती स्थानान्तरण भएपछि टीकापुरकै भगरैयाँ गाउँको नामाकरण गरि त्यहाबाट सारियो। त्यहाँबाट करिब तीन सय परिवारलाई नगर विकास समितिले त्यहाँ भएको जग्गा अनुसारकै जग्गा उपलब्ध गराएर बस्ती सारेको बन्धु बताउँछन्।
“हामी बसेको बस्ती सरेपछी भगरैयाँ गाउँ सहेको हो। त्यतिबेला भगरैयाँ गाउँ हामी बस्केको गाउँ भन्दा बढी जोखिममा थियो। त्यहा त बर्सेनि बाढीको वितण्डा भैनै रहन्थ्यो,” बन्धुले भने, “हाम्रो बस्ती स्थानान्तरण भएको केही वर्षपछि मात्रै भगरैयाँ गाउँ सरेको थियो।
असोज ३१ देखि कार्तिक ३ गतेसम्म आएको बाढीलाई पनि स्थानीयले २०४० पछिको ठूलो बाढीको रुपमा हेरेका छन्। उसो त यस अघिका कैयौं बाढीमा विस्थापित भएकाहरुकै कारण आज टीकापुरमा सातवटा शिविरहरु बसिसकेका छन्। शिविरमा बसेका नागरिकहरुको अझै पनि बाढीको पिडालाई कम गर्न सकेको छैन।
टीकापुरको साहिपुर, सिम्राना, बनगाउँ, दौलतपुर लगायतका बस्तिहरु स्थानान्तरणको कुरा पटकपटक उठ्ने गरेको छ। “अब बस्ती स्थानान्तरणका लागि सजिलो छैन। पहिले टीकापुरमा बस्ती बसाल्नु थियो। जति जग्गा माग्यो त्यति पाइन्थ्यो,” बन्धुले भने, “अहिले जग्गा नै छैन। स्थानान्तरण गरिएका बस्तिहरुलाई कहाँ लियर राख्ने भन्ने विकास समितीसँग निकै चुनौती छ। त्यसकारण पनि बस्ती स्थानान्तरण नभई त्यसको विकल्प खुज्नु नै उचित देखिन्छ।
रानी जमरा कुलरिया सिँचाइ आयोजनाले काम गर्दै आएको भएपनि संरचना विकासले पुर्णता पाउन नसकेको अवस्थामा बाढीको जोखिमबाट बच्न नसकेको स्थानीय भागिराम चौधरी बताउँछन्। रासस