काठमाण्डौ २९ चैत/ नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आइतबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय सानेपामा भयो । बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल उपस्थित थिएनन्। देउवा कार्यव्यस्ता देखाउँदै बैठकमा आएनन् भने पौडेल तनहुँमा छन्। आजको बैठक मुख्यगरी महाधिवेशनसँग केन्द्रीय रहेको थियो।
क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम र समायोजनबारेका काममा बैठक केन्द्रीत रहेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए। ‘भोलिको केन्द्रीय समिति बैठकमा कस्ता एजेन्डा लैजाने भन्नेबारे आज अनौपचारिक रूपमा छलफल गरिएको हो,’ पौडेलले भने। आजको बैठकमा उपसभापति विमलेन्द्र निधिले समायोजन समितिले हालसम्म गरेका काम र उत्पन्न समस्याबारे बिफ्रिङ गरेका थिए।
यस्तै केन्द्रीय क्रियाशील छानविन समितिका संयोजक रमेश लेखकले क्रियाशील सदस्यता वितरण सम्बन्धमा देखिएका समस्याबारे जानकारी गराएका थिए। कांग्रेसले ७१ जिल्लामा क्रियाशील सदस्यताको काम धमाधम अगाडि बढाए पनि ६ जिल्लामा काम गर्न सकेको छैन। सिन्धुपाल्चोक जिल्लामा त समायोजनकै काममा विवाद हुँदा क्रियाशील फारम नै पुगेको छैन।
चैत १० गतेसम्म क्रियाशी वितरण गरी केन्द्रमा जानकारी दिन निर्देशन दिए पनि विभिन्न जिल्ला कार्यसमितिले क्रियाशी सदस्यता वितरण गर्न सकेका छैनन्। चैत २० गते बसेको केन्द्रीय कार्यसमिति बैठकले चैत ३० गतेसम्म क्रियाशील बाँड्न भने पनि यो अवधिमा थप क्रियाशील वितरण हुन सकेन।
‘अब कति दिन थप गर्दा क्रियाशील सदस्यता वितरण तथा नवीकरणका साथै विवरण इन्ट्री भइसक्छ भन्नेबारे आज सामान्य छलफल भयो। भोलि केन्द्रीय समितिले यसबारे निर्णय गर्छ,’ पौडेलले भने। कांग्रेसले करिब छ लाख क्रियाशील सदस्यता वितरण गरिसकेको छ। यसपटक १० लाख क्रियाशील सदस्यता पुर्याउने तयारी कांग्रेसको छ।
क्रियाशील सदस्यता वितरण गर्न समस्या भइरहेका जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउन सकिनेबारे पनि आज छलफल भएको थियो। पौडेलका अनुसार सोमबार बस्ने केन्द्रीय समिति बैठकमा सभापति देउवा र वरिष्ठ नेता पौडेल पनि सहभागी हुनेछन्।
उक्त बैठकले क्रियाशील वितरणका लागि थप केही समय दिन सक्ने र महाधिवेशन कार्यतालिका हेरफेर गर्न सक्छ। कांग्रेसले भदौ ७ देखि १४ औं महाधिवेशन गर्ने भने पनि पटकपटक महाधिवेशन कार्यतालिका प्रभावित भइरहेको छ। कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतका अनुसार समयमै महाधिवेशन हुन्छ। समयमै क्रियाशील सदस्यताको विवरण इन्ट्री नगर्नेहरू अधिवेशनमा बञ्चित हुन सक्ने पनि उनले बताए।