धनगढी, माघ १८ / बेलायतको एक अदालतले एक पुरुषलाई सुन्दा अचम्म लाग्ने निर्णय सुनाएको छ । ती युवकलाई कुनै महिलासँग यौन सम्बन्ध स्थापित गर्नु २४ घण्टा अघि प्रहरी र महिला दुबैलाई यसबारे जानकारी दिनुपर्ने आदेश दिइएको छ । साथै युवकलाई कुनै पनि महिलासँग अनावश्यक कुराकानीमा पनि रोक लगाइएको छ ।
३९ वर्षका पुरुष डीन डायरमाथि यौन हमलाका विभिन्न विषयमा मुद्दा चलिरहेको छ । एक महिलाले ती पुरुषमाथि पार्टीका बेला गलत तरिकाले छोएको र यसको विरोध गर्दा बलात्कारको धम्की पनि दिएको आरोप लगाएकी छिन् । यद्यपि, उनीमाथि लागेका कुनै पनि आरोप पुष्टि भइसकेको छैन ।
डेलीमेलको रिपोर्ट अनुसार अदालतले युवकविरुद्धको आरोप सुनेपछि उनलाई सेक्सुअल रिस्ट्रेन्ट अर्डर थमाइदिएको छ । युवकमाथि १४ वर्षकी एक किशोरीसँग यौन सम्बन्ध स्थापित गर्ने कोसिसलगायतका सात आरोप लागेका छन् ।बेलायतमा सेक्सुअल रिस्ट्रेन्ट अर्डर एउटा यस्तो आदेश हो जुन त्यस्ता व्यक्तिलाई दिइन्छ जसको दोष प्रमाणित भएको छैन र जसबाट समाजलाई खतरा छ ।
निर्माण क्षेत्रमा काम गर्ने यी पुरुषलाई दैनिक कामकाजमा कुरा नगरी नहुने महिलासँग मात्रै कुरा गर्न अनुमति दिइएको छ – जस्तै महिला बस कन्डक्टर, महिला प्रहरी । यसका साथै उनले कुनै महिलासँग यौन सम्बन्ध स्थापित गर्न चाहेको खण्डमा २४ घण्टा अघि प्रहरीलाई यसबारे जानकारी दिनुपर्नेछ ।एजेन्सी