धनगढी, मंसिर २९/ लगातार तीन चार महिनादेखिको फोनकै कुराकानीले बेलौरी नगरपालिका ७ रामनगर (उदयपुर) का २५ वर्षिय देव राना भनिने देवकी रानाले अनुजा (परिवर्तित नाम) संग विवाहको प्रस्ताव राखे । केहीे समयको गहिरो प्रेमले देवले राखेको प्रस्ताव स्वीकार गर्न अनुजालाई कुनै अप्ठरो भएन । फोनकै कुराकानीमा बसेको माया प्रेमले यतिसम्म पनि गराउला भन्ने कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका कि ती १८ वर्षिया अनुजाले सपनामा समेत चिताएकी थिइनन् । हिँड्दा, उठ्दा, बस्दा, बोल्दा, शारीरिक बनोट हेर्दा अनि कपाल काटेको र पहिरनले देव केटाजस्तै देखिन्थ्यो । उनीहरुबीच लामो समयदेखि नै प्रेमालाप हुँदै थियो ।
प्रेमलाई विवाहमा परिणत गर्नु पर्छ, संगै जीवन बिताउनुपर्छ भनेर देवले अनुजालाई भनिरहन्थे । प्रेममा परेर एकअर्काबिना एकपल पनि बस्न नसक्ने अवस्थामा पुगिसकेकाे अनुजा सुनाउँछिन् । यस्तैमा एकदिन घरमा प्रेम प्रसंग बारे सुनाएपछि उनीहरूबीच विवाह हुने पक्का नै भयो । तर तत्काल विवाह गर्नकालागि आर्थिक अवस्थाले नभ्याउने भएकाले दुवै जनालाई टिकाटालो गरी पठाएको अनुजाका दाइले बताए । उनीहरुको विवाह भयो ।
अनुजा र उनका परिवारलाई देवले आफू गैरसरकारी संस्थामा जागिरे रहेको समेत बताएका रहेछन् । टिकाटालो गरी ल्याएपछि देवले शुक्लाफाँटा नगरपालिका वडा नं ४ स्थित असैनामा डेरा गरेर बस्दै आएको घरमा अनुजालाई ल्याएर राखे । संगै सुत्दा समेत शारीरिक सम्बन्ध नराख्ने र टाढिन थालेपछि उनले शंका गरिछिन् । त्यसपछि मात्रै उनले थाहा पाइन् देव केटा नभएर केटी नै रहेछ । “म पनि केटी नै हुँ भनेर उसले स्वीकारेपछि माइतीलाई फोन गरेर सबै कुरा अभिभावकलाई बताइदिएँ ।” अनुजाले भनिन् । रुँदै आफ्ना अभिभावकलाई जब देवका बारेमा जानकारी दिएँ, त्यसपछि माइती सबैको होस उड्यो ।
त्यसपछि उनका अभिभावकले यसबारे ईलाका प्रहरी कार्यालय झलारीमा ललाइफकाई विवाह गरेर ल्याएको कुरा उल्लेख गर्दै उजुरी गरे । प्रहरीले देव र अनुजालाई संगै राखेर शनिवार कुरा गर्न लगाउँदा केटीले नै केटीलाई झुक्याई विवाह गरेको कुरा खुल्यो । देव भनिने देवकी रानाले बहाइ धर्म प्रचारक भएदेखि नाम परिवर्तन गरेका रहेछन् ।
देवकीकी आमा राम दुलारी रानाले उनी छोरी नै भएको बताएकी छिन् । ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बहादुर बोहराले दुवै जनालाई अभिभावको जिम्मा लगाइएको बताए । “अनुसन्धान जारी छ ।” उनले भने, “अन्य प्रयोजनका लागि विवाह गरेको रहेछ भने कारवाही प्रकृया अगाडी बढ्छ ।” देवकीको भनाईलाई उद्धृत गर्दै प्रहरी निरीक्षक बोहराले भने, “सबै थोक दिन सक्छु तर सुखभोग दिन सक्दैन भनेर उनले सबै सामु भनेका छन् ।” उनको परिवारका अनुसार सानै देखि देवकीले केटाकै हाउभाउ देखाउने गरेको खुलेको छ ।