धनगढी, २७ मंसिर: धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले स्थानीय सरकार सबै सरकारको मेरुदण्ड भएको बताएका छन् । शनिवार स्थानीयतह कर्मचारी यूनियन नेपाल सुदूरपश्चिम प्रदेशको संगठन विस्तार तथा क्षमता विकास कार्यक्रममा बोल्दै नगरप्रमुख वडले यस्तो धारणा राखेका हुन । नगरप्रमुख वडले स्थानीय सरकारलाई सफल बनाउनमा स्थानीयतह कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने बताए । जहाँ नेपाली कांग्रेसले नेतृत्व गरेका स्थानीय सरकार छन् त्यहाँ कर्मचारीहरुको सम्मान छ नगरप्रमुख वडले भने, ‘स्थानीयतहका कर्मचारीहरुलाई नेपाली कांग्रेस नेतृत्वको सरकार भएका ठाउँमा बृती विकासमा बिभेद छैन ।’
प्रजातान्त्रीक बिचार राख्ने कर्मचारीहरु अन्य कर्मचारीहरु भन्दा फरक देखिनुपर्छ नगरप्रमुख वडले भने, भष्टाचार, अनियमिताबाट टाढै रहने र सेवाग्राहीको मन जित्ने काम गर्नुपर्छ ।’ नेपाली कांग्रेस भित्र गुट उपगुट देखिने कुरा स्वभाविक भएपनि कर्मचारीहरु बिभक्त नहुन नगरप्रमुख वडले आग्रह गरे ।स्थानीयतह कर्मचारी यूनियन नेपालका केन्द्रीय अध्यक्ष नरबहादुर सावदले धनगढी उप–महानगरपालिका देशभरीमा सबैभन्दा पहिले स्थानीयतह कर्मचारीहरुको पक्षमा बोल्ने स्थानीयतह भएको बताए ।
कार्यक्रममा नेपाल ट्रेड यूनियन कांग्रेसका उप–महासचिव सिताराम अवस्थी, नेपाल ट्रेड यूनियन कांग्रेस सुदूरपश्चिम अध्यक्ष सिद्धराज भट्ट, स्थानीयतह कर्मचारी यूनियन नेपालका केन्द्रिय सदस्य सर्वज्ञराज पौडेल, हरी प्रसाद भट्ट, चन्द्रकान्त जोशीले मन्तब्य राखेका थिए । कार्यक्रम स्थानीयतह कर्मचारी यूनियन नेपाल सुदूरपश्चिम प्रदेशका संयोजक दाताराम जोशीको अध्यक्षतामा भएको थियो । जोशीका अनुसार शनिवार नै प्रदेश स्तरीय स्थानीयतह कर्मचारी यूनियन नेपालको नयाँ समिति गठन गरिने छ । कार्यक्रममा प्रदेशभरीका स्थानीयतह कर्मचारी यूनियनका प्रतिनिधीहरुको उपस्थीति रहेको छ ।
