बौनिया २४ कार्तिक-नेपाली कांग्रेसले वडास्तरीय अन्तर्क्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा सोमबार प्रशिक्षण कार्यक्रम गरिएको हो । पार्टीको आगामी १४ औं महाधिवेशनको तयारीका लागि पार्टीको क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण बारे अन्तर्क्रियाको कामलाई तीव्रता दिएको कांग्रेसले जनाएको छ ।
पार्टीको विधान २०१७ (संशोधन सहित) ले तोकेको नियमावली तथा कार्यविधि बमोजिम सदस्यता वितरणलाई व्यवस्थित गर्न प्रशिक्षण दिइएको वडासचिव गोविन्द बीसीले जानकारी दिए । कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न तथा पार्टीका विभिन्न तहका प्रतिनिधि छनौट र सांगठनिक संरचनाको अधिवेशन सम्पन्न गर्ने प्रयोजनका लागि सदस्यता वितरणका दफा बारे जानकारी दिएको हो ।पार्टी विधानको दफा ४ मा नेपाली कांग्रेसको सदस्य र क्रियाशील सदस्य रहने व्यवस्था गरिएको छ ।
कांग्रेसको सदस्यता प्राप्त गरेको सदस्यले एक वर्ष पुगेपछि मात्र क्रियाशील सदस्यता प्राप्त हुने विधानको व्यवस्था छ । सोही अनुसार पार्टीको निर्देशन बमोजिम मौजुदा सदस्य संख्याको शतप्रतिशत थप नयाँ क्रियाशील सदस्यता वितरण गरिन लागिएको वडासचिव बीसीले बताए । यस्तै, यसअघिका क्रियाशील सदस्यता नवीकरण समेत गरिन लागिएको छ ।
कार्यक्रममा पूर्वक्षेत्रीय सभापति देवानन्द जैशी र युवा नेता जुगराम चौधरीले प्रशिक्षण दिएका थिए । वडासभापति नन्दाराम बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा महासमिति सदस्य कमलबहादुर शाह प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा प्रदेश (ख) सभापति श्री तेजप्रताप मल्ल, बर्दगोरिया सभापति श्री गणेश शाही, नेपाली कांग्रेस अछाम जिल्ला सदस्य श्री जनकबहादुर शाह, नेविसंघका श्री ललित जैशी गरि वडास्तरका ७९ नेताकार्यकर्ताको सहभागिता रहेकोे थियो ।