धनगढी, १३ असोज
निड्स नेपालले कोरोना भाइरस कोभिड –१९ को संक्रमण रोकथाममा सहयोग पुगोस भनेर धनगढी उप–महानगरपालिकालाई ब्यक्तिगत सरसफाई सामाग्री हस्तान्तरण गरेको छ ।
निड्स नेपालका सह निर्देशक प्रकाशचन्द्र मडैले धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टलाई ब्यक्तिगत सरसफाई सामाग्री हस्तान्तरण गरेका हुन । ब्यक्तिगत सरसफाई सामाग्रीमा ५० ब्याग महिलाका लागि र ८० ब्याग पुरुषका लागि रहेको छ । ब्याग भित्र तौलिया, बाथरुम साबुन, लुगाधुने साबुन, तुथपेष्ट, ब्रस, सेनीटाईजर, मास्क लगायतका सामाग्रीहरु रहेका छन् ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले धनगढी त्रिनगर भन्सार नाका संग जोडिएकाले आफ्नो नगरभित्रका मात्रै नभएर देशभरीका ब्यक्तिहरुलाई सिमामा सेवा दिईरहेको बताईन । ‘सुरु देखि नै बिभिन्न सामाजिक संघसंस्था, मनकारी ब्यक्तिहरुको सहयोग र समन्वय सिमामा खाना दिने तथा पानी खुवाउने गरिराखेका छौं नगर उप–प्रमुख भट्टले भनिन्, अहिले पनि सेवा जारी नै छ । मानवियताका लागि सहयोग गर्ने निड्स नेपाललाई उप–प्रमुख भट्टले धन्यवाद दिईन् । उनले निड्स नेपाल संग सहयोग तथा साझेदारी गर्नेदाताहरुलाई पनि धन्यवाद दिईन ।
निड्स नेपालका सह निर्देशक प्रकाशचन्द्र मडैले अमेरिकी अन्तराष्ट्रिय विकास नियोग ( यूएसएआईडी) र संयुक्त अधिराज्यको यूके एडको आर्थिक सहयोग, विनरक ईन्टरनेशनलको सहकार्यमा निड्स नेपालले संचालन गरेको हाम्रो सम्मान परियोजना अन्तरगत ब्यक्तिगत सरसफाई सामाग्री सहयोग गरिएको बताए ।
