काठमाडौं ,६ असोज । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल विरुद्धको अवहेलना मुद्दालाई सर्वोच्च अदालतले तामेलीमा राखेको छ।
न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले तामेलीमा राख्ने निर्णय गरेको हो। अबहेलना मुद्दाको औचित्य समाप्त भएपछि तामेलीमा राख्ने निर्णय गरेको हो । २०७४ मंसिर १० हुने प्रतिनिधिसभाको चुनावमा वाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका दुई दलका अध्यक्षले जसरी पनि चुनाव हुनुपर्ने अभिव्यक्ति दिएका थिए।
तत्कालीन राजपाका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव छुट्टाछुट्टै हुनुपर्ने भन्दै रिट दायर गरेका थिए। उनीहरुको अभिव्यक्ति सर्वोच्चको आदेश विपरीत भएको जिकीर गर्दै शुक्लाले २०७४ कात्तिक १३ गते अपहेलना मुद्दा दायर गरेका थिए।