धनगढी, ४ असोज- पत्रकार माथि भएको आक्रमण बारे अध्ययन गर्न नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको मिसन टोलीले दिनेश संचार गृह संग छलफल गरेको छ । धनगढी पुगि स्थालगत अध्यन सुरु गरेको टोलीले दिनेश संचार गृहका संचालक, व्यबस्थापक र सम्पादकिय टिम संग छलफल गरेको मिसन टोलीका सदस्य तथा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य मिन बमले जानकारी दिए ।
दिनेश संचार गृहमा अनुगमनका क्रममा पुगेका टोलीलाई संचार गृहका संचालक गोपी हमाल, व्यबस्थापक अमिता कुँवर र सम्पादक नवराज पनेरुले घटनको बारेमा जानकारी गराएका थिए । अनुगमनका क्रममा मिसन टोलीका संयोजक नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले यो घटनले संचारजगत त्रसित भएको बताउदै संलग्न सबैलाई कानुनी दायरामा ल्याउनु पर्ने बताए ।
टोलीमा नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य मिन बम, उत्तर बिष्ट, प्रदेश अध्यक्ष अर्जुन शाह, महासचिव योगेश रावल, कैलाली अध्यक्ष जगत साँउद लगायत सहभागी रहेका छन् । टोलीले घटनाका सम्बन्धमा स्थलगत रूपमा अध्ययन गरी पीडित पक्ष, स्थानीय प्रशासन, प्रहरी, सरोकारवाला, पत्रकार लगायत सँग छलफल गरी सत्यतथ्य सार्वजनिक गर्ने जनाएको छ ।
पत्रकार महासंघले पत्रकारमाथि अन्धाधुन्ध आक्रमण गरी घाइते बनाइएको घटनाहरूबारे स्थलगत अध्ययनका लागि महासंघको अध्ययन टोली धनगढी पठाएको हो । मिसन टोलीले दिनेश एफएमका पत्रकारमाथि अन्धाधुन्ध आक्रमण गरी घाइते बनाइएको घटनासहित कैलालीमा भएका प्रेस स्वतन्त्रता हननका घटनाहरूबारे स्थलगत अध्ययन गर्ने जनाईएको छ ।