धनगढी ।‘स्वच्छ र सक्षम निजामती प्रशासन स् समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ निजामती सेवा दिवस २०७७ मनाइदैछ । नेपालमा निजामती सेवाको लामो इतिहास रहेको भए तापनि निजामती सेवा ऐन, २०१३ जारी भएको दिन ‘भाद्र २२’ लाई आधार मानेर सरकारले २०६१ सालदेखि यो दिवस मनाउन थालेको हो ।
यही अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विषम परिस्थिति तथा कोरोना महामारीका बीच जीवन जोखिममा राखी अग्रभागमा खटिनुभएका राष्ट्रसेवकप्रति सम्मान प्रकट गरेका छन् । निजामती सेवा दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री भट्टले जो जहाँ रहेर सरकार र आम जनताबीच सम्पर्क सेतुका रूपमा काम गरिरहनुभएका राष्ट्रसवेक कर्मचारीले संघीयताको भावना अनुरुप जनताको काम चुस्त दुरुस्त छिटो छरितो गर्न दिवसले सबैलाई थप बोध गरोस् भन्दै राष्ट्रसेवकप्रति सम्मान प्रकट गरेका हुन् ।
जुनकुनै सरकारलाई पनि सफल, सहज र नागरिक सापेक्षरूपमा सञ्चालन गर्नमा स्थायी सरकारका रूपमा रहेको निजामती सेवाको स्थान र प्रभाव अत्यन्तै महत्त्वपूर्ण रहने कुरा हाल कोभिड(१९ लगायत समयसमयमा आउने अकल्पनीय बाढी, पहिरो, आगलागीजस्ता विपद्का अवस्थामा कर्मचारीले देखाएको परोपकारी भावना र सम्पादन गरेको काम प्रशंसनीय रहेको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।