धनगढी, ७ भदौ/सुदूरपश्चिम प्रदेशमा आईबारदेखि गौरा पर्व सुरु भएको छ । यस पर्वमा आईतबार पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेका छन् ।
घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र अक्षताले सिङ्गारेर धुप बत्ती बालेर पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाएर राखेर भगवन महेश्वरको आह्वान गर्ने कार्यलाई बिरुडा भनिन्छ ।
त्यस दिन महिलाले माङ्गलिक गीतहरु गाउँदै गाउँका पँधेरो, खोला, नदीको मुहानमा बिरुडा भिजाउनाका साथै पञ्च वनस्पति (धान, साँउ, तिल, बेल र पाती) को पुत्ला बनाएर पँधेरामा राखी पूजा गर्ने र बिरुडा लिएर मङ्गल गीतसँगै घरमा ल्याएर राख्ने गर्छन् । विवाहित महिलाले गौरा पर्वमा बर्त बसी कण्ठसूत्र धारणा गर्नुपर्ने र पुरुषसरह गायत्रीजप गरी भोजन ग्रहण गर्ने प्रचलन छ ।
सप्तमीका दिन महिलाले दिनभरि बर्त बसेर आफ्नो परिवारको सुख, समृद्धि र चिरायूको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने चलनसमेत यहाँको समाजमा रहेको स्थानीय पण्डित धर्मान्द जोशीले बताए ।
सात गाँठो पारिएको दुर्वासहितको कण्ठसूत्र (दुवधागो) पञ्चगव्य अभिषेक गरी गौराको खुटृामा राखिन्छ । अष्टमीका दिन रङ्गीचङ्गी कपडामा सजिएका महिलाले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको प्रतिमालाई रेशमी कपडाले सिङ्गारेर महेश्वरको प्रतिमासँगै बाहिर ल्याएर आसनमा राखी आठ अध्याय र आठ खण्ड भएको अठेबाली परम्परागत फाग, गौराको गीतिकथा गाउँदै पूजा गरेर गौरा र महेश्वरलाई शिरमा राखी नाँच्ने गर्दछन् । यसै अवसरमा देउडा र ठाडो खेल खेलेर रमाइलो गरिन्छ ।
गौराको प्रसादका रूपमा बिरुडा आफन्तलाई प्रसादका रूपमा बाँडिने र भोलिपल्ट गौरा खेल्ने खेलाउनुका साथै देउडा गीत गाएर रमाइलो गर्ने गरिएको स्थानीय कृत बहादुर बिष्टले बताए ।
गौरा पूजा गरी सकेपछि झाँकीसहित पञ्च वनस्पतिबाट बनाइएको गौराको प्रतिमालाई झाँकीसहित विसर्जन गरिने उनले जानकारी दिए । गौरा पर्वमा नयाँ कपडा लगाउनाका साथै सेल, पुरी र चामलको पिठोबाट बनेको माणा, खीर, मालपुवा, बटुकजस्ता शाकाहारी पकवान खाने गरिन्छ । यो पर्व सुदूरपश्चिम सहित भारतको कुमाउ र गढवाल क्षेत्रमा समेत विशेष महत्वका साथ मनाइने गरिन्छ ।
कोरोना महामारीले प्रभावित गौरा पर्व
सुदूपश्चिममा महान पर्वको रुपमा मनाईने गौरा यस वर्ष कोरोना महामारीले प्रभावित बनेको छ । सुदूरपश्चिम लगाएत देशभर कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्दै गएपछि विभिन्न जिल्ला प्रशासनहरुले सामुहिक रूपमा गौरा नमनाउन आग्रह गरेका छन् ।
बुधबारदेखी भदौ १४ गतेसम्म जिल्ला प्रशास कार्यालय कैलालीले निषेधाज्ञा जारी गरेको छ । यस्तै सुदूरपश्चिमका कैलाली डडेल्धुरा, बैतडी, डोटी लगाएतका जिल्लाहरुमा पनि प्रशासनले आंशिक रुपमा निषेधाज्ञा जारी गरिरहेका छन् । प्रशासन कार्यालयहरुले सामूहिक रूपमा गौरा मनाउँदा संक्रमण फैलिने जोखिम रहेकाले नागरिकलाई घरभित्रै गौरापर्व मनाउन आग्रह गरेका छन् ।
सुदूरपश्चिममा गौरा पर्व सुरु
सुदूरपश्चिममा गौरा पर्व सुरु