कञ्चनपुरमा प्रहरीले हाकिरहेको मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । सोमबार महेन्द्रनगरबाट धनगढी आइरहेको म १ प ८९१ नम्बरको मोटरसाइकल झाडीमा खस्दा चालक प्रहरी जवानकी श्रीमतीको मृत्यु भएको हो ।
सोमबार बिहान १० बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गतको कृष्णपुर बनदेवी झाडीमा मोटरसाइक खस्दा प्रहरी जवान चन्द्रबहादुर बोहराकी २४ वर्षीया श्रीमती तारा बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक अमर थापाले सामान्य अनुसन्धानका क्रममा धनगढी गइरहेको क्रममा साइकल यात्रुलाई बचाउन खोज्दा दुर्घटना भएको खुल्नमा आएको बताए।
‘दुर्घटनाको अन्य कारण भने बाहिरिएको छैन, उनले भने, ‘जवानसँग सोधपुछका क्रममा साइकल यात्रुलाई बचाउन खोज्दा मोटरसाइकल दुर्घटनामा परेको हो । ती महिलाको शव झाडीमा फेला परेको थियो । हामीले उद्धार गर्यौँ।’
उनको शव महाकाली अस्पतालमा राखिएको छ । चालक नरेन्द्रलाई सामान्य चोट लागेको उनले बताए । उनी अहिले अस्पतालबाट निको भएर कार्यालयमा हाजिर भएका छन् ।
बझाङ घर भएका बोहरा ५ वर्ष पहिले प्रहरीमा भर्ना भएका थिए । बैतडी माइत भएकी तारा बोहरा पनि सशस्त्र प्रहरीमा रहेको खुल्न आएको तर विस्तृत विवरण प्राप्त नभएको डिएसपी थापाले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।