काठमाडौं । कोरोना भाइरस संक्रमणको कारण नेपालमा थप तीन जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंका दुई र सिन्धुपाल्चोकका एक संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । काठमाडौंको वडा नं १० शंखमूलका ६० वर्षीय पुरुषको उपचारको क्रममा पाटन अस्पतालमा असार २६ गते मृत्यु भएको उनले बताए ।
फोक्सोमा पानी जमेको र मिर्गौलामा समस्या भएपछि उनी असार १६ गते अस्पताल भर्ना भएको मन्त्रालयले जनाएको छ । उपचारका क्रममा गरिएको कोरोना परीक्षणको पुष्टि भने असार १७ गते भएको थियो । यस्तै, सिन्धुपाल्चोकका ४५ वर्षीय कोरोना संक्रमित एक पुरुषको पनि मृत्यु भएको छ ।
क्षयरोगको उपचारका लागि असार १८ गते पाटन अस्पतालमा भर्ना भएका उनको २५ गते मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनको असार २२ गते कोरोना पुष्टि भएको थियो ।