डोटी २१ असार- डोटीमा पहिरोले च्यापिएर एक ६ महिने शिशुको ज्यान गएको छ । पूर्वीचौकी गाउँपालिका वडा नं ४ सानागाउँको नुवाकोट टोल बस्ने भक्त नेपालीका ६ महिने छोरा छत्र नेपालीको पहिरोले च्यापिएर ज्यान गएको हो ।
अबिरल वर्षासँगै आइतबार बिहान घर पछाडीबाट आएको पहिरोले च्यापिएर उनको ज्यान गएको हो । मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा ल्याउने तयारी भईरहेको सानागाउँ प्रहरीचौकी इञ्चार्ज नारायण बडुले जानकारी दिए ।मृतक शिशुकी आमा २५ वर्षिया देवा नेपाली पनि पहिरोमा च्यापिएर गम्भीर घाइते भएकी छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याएर उपचार भईरहेको छ ।
उनको कम्मर भन्दा तल्लो शरीर पहिरोले च्यापिएर गम्भीर चोट लागेको जनाईएको छ । अहिले दुःखाई कम गर्न इन्जेक्शन मात्रै दिईएको र एक्सरे रिपोर्ट आईनसकेका कारण के कति चोटपटक लागेको छ अहिल्यै भन्न नसकिने उपचारमा संलग्न जिल्ला अस्पतालका डाक्टर प्रकाश ठकुल्लाले जानकारी दिए । पहिरो आएको समयमा घरभित्र भक्त नेपालीका श्रीमती, दुइ छोरा र एक छोरी गरी ५ जना रहेकोमा अरु भने भागेर बाँच्न सफल भएका छन् ।
ढुङ्गाले चिनेको र टिनले छाएको घरपछाडीबाट आएको पहिराले घरभित्रको सबै सरसामान पूर्ण क्षती भएकाले झण्डै ५ लाख बढिको क्षती भएको स्थानीय बासिन्दा समेत रहेका नेपाल रेडक्रस सोसाईटी डोटी शाखाका सभापती लक्षीराम कुँवरले बताए ।