धनगढी,३२ जेठ
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीको जोरायल गाउँपालिका–६ निरौलीस्थित पुरातात्विक महत्व बोकेका मल्लकालीन निरौली दरबार जीर्ण हुँदै गएको छ । पर्यटकीय सम्भावना बोकेको सो दरबार उचित संरक्षण तथा सम्वद्र्धनको अभावमा दिनानुदिन जीर्ण बन्दै गएको हो ।
ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका र पर्यटकीय हिसाबमा उच्च सम्भावना बोकेका सो मल्लकालीन दरबारको उचित संरक्षण र सम्वद्र्धन नहुँदा भत्किएर जीर्ण बन्दै गएको काँग्रेस नेता दिपक बिष्टले बताए । उनले भने, ‘पुरानो कलात्मक शैलीका सो दरबार संरक्षण नहुँदा भत्किँदै गएको छ, यसको संरक्षण गर्नु जरुरी छ ।’
स्थानीय जनताबाट सङ्कलन गरिएको मास पिसी गारो बनाएको र त्यसै गारोबाट नौ तल्ले दरबार निर्माण भएको थियो । तत्कालीन मल्लराजा निरैपालले आफ्नो शासनकालमा निर्माण गरिएको उक्त दरबार नाघी मल्लराजाको शासन कालपछि खाली भएको इतिहास छ ।
त्यही निरैपाल राजाका नामबाट पछि गएर सो ठाउँलाई निरौली नामकरण गरिएको किंवदन्ती रहेको जोरायल गाउँपालिका– ६का निरौलीका खगेन्द्र बोहराले बताए । उनले भने, ‘यस्तो ऐतिहासिक र पुरातात्विक महत्वका दरबारको संरक्षणका लागि स्थानीय, प्रदेश र संघीय सरकारले समन्वय र सहकार्य गरी अगाडि बढ्नुपर्छ ।’
राजा नाघी मल्ल र सोही ठाउँमा रहेका भागेश्वर देवताबीच को ठूलो भन्ने विषयमा घम्साघम्सी चलेको कथन थियो । राजाले आफू ठूलो भएको जिकिर गरेपछि भागेश्वर देवताले उनको दरबारलगायत अन्य बस्तुभाउ सबैलाई कम्पन गराई छलदेखाएपछि राजाले भागेश्वर देवतासँग माफी मागेर तपाई नै ठूलो हो भनी पूजा गर्न थालेको डोटेली चैत (धुमारी) मा उल्लेख गरिएको स्थानिय बुढापाका बताउछन् ।
बढापाकाहरु भन्छन् ‘नाघी मल्ल राजा र भागेश्वर देवताबीच भएको को ठूलो भन्ने विवादको कहानीमा बनाइएको धुमारी अहिले पनि हामी गौरा पर्वको बेलामा धुमारी अर्थात डेउडा खेल्छौँ, जो आफैँमा अति रोमाञ्चक र सुनौँसुनौँ लाग्छ ।’ भग्नावशेका रुपमा परिणत हुँदै गएको उक्त दरबारको माथिल्लो तलामा गएर हेदा सर्प देखापर्ने गरेको र दरबारमा बहुमूल्य सम्पत्ति हुन सक्ने अनुमान छ ।
दरबारमा भएको सर्पको डरका कारण कसैले पनि उत्खनन गर्ने आँटसमेत गरेको थिएन । निरौली गाउँको माथि अग्लो रमणीय डाँडामा रहेको उक्त दरबारको समयमै उचित संरक्षण तथा सम्र्वद्धन गरिए त्यहाँको ऐतिहासिक र पर्यटकीय विकास हुने स्थानयवासी बताउँछन् ।
निरौली दरबारको संरक्षणका लागि गाउँपालिकाले पहल चाल्ने तथा केही समयभित्रमै विज्ञको रायसुझाव र सल्लाहका आधारमा उत्खनन तथा संरक्षण गरिने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । उनले भने, ‘हामी विज्ञ टोली तथा स्थानीय बुढापाकासँग राय सुझाव लिइरहेका छौँ, सबैको सल्लाह र सुझावमा दरबारको उचित संरक्षण तथा संर्वद्धन गरिने छ ।’
यतिमात्र नभई उक्त क्षेत्रमा तत्कालीन अवस्थामा मल्ल राजाले प्रयोग गर्ने मगराउ (नाउला, कुवा) पनि जीर्ण बन्दै गएका छन् । त्यस्तै जिल्लाको बडीकेदार गाउँपालिका र्बैछनस्थित रिसेडी दरबारबाट राजा घोडामा चढेर निरौली दरबारमा आउने जाने समयमा बीच बाटोमा रहेको घोडालाई दाना पानी दिने ढुङ्गा तथा फलामका तोपडा पनि संरक्षण नहुँदा जीर्ण हुन थालेका छन् ।
यहाँका प्रसिद्ध पर्ब गौरामा पनि राजा नाघी मल्ल तथा भागेश्वर देवताका बारेमा रचिएका गीत (चैत, धुमारी) गाउँने चलन अझै रहेको छ । ‘आँखै अगाडि देखिने महत्वपूर्ण दरबार त संरक्षण नहुँदा दिनानुदिन लोप हुँदैछ, चैत, धुमारी पनि लोप नहोला भन्न सकिन्न ।’ पुरातात्विक महत्व बोकेका यहाँको मल्लकालीन दरबारको संरक्षण तथा संर्वद्धन गरिदिन स्थानीयवासीले सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन् ।
निरौलीस्थित पुरातात्विक महत्व बोकेका मल्लकालीन निरौली दरबार जीर्ण हुँदै गएको तस्बिरहरुमा
- तस्बिरहरु : केशबबहादुर बम










