काठमाण्डौ -लकडाउनको अवधिमा ५ लाख मेट्रिक टनभन्दा धेरै खाद्य वस्तु आयात भएको छ । चैत ११ गतेदेखि जेठको ३० गतेसम्म ५ लाख १३ हजार ४ सय ५१ मेट्रिक टन खाद्यवस्तु आयात भएको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले जनाएको छ ।
लकडाउनको ८० दिनमा खाद्यान्न मात्रै २ लाख ९२ हजार ६ सय ६१ मेट्रिक टन भित्रिएको छ । यस्तै दलहन ७४ हजार २ सय २८ मेट्रिक टन, ९६ हजार २६ मेट्रिक टन तरकारी, ३८ हजार २ सय ३९ मेट्रिक टन फलफुल र दुग्धजन्य पदार्थ १२ हजार २ सय ९७ मेट्रिक टन आयात भएको छ ।
आयातित वस्तुको मूल्य ५ अर्ब रुपैयाँभन्दा धेरै रहेको भन्सार विभागले जनाएको छ ।

लकडाउन सुरु भएपछि आयात क्रमशस् बढिरहेको छ । पहिलो हप्तादेखि १० हप्तासम्मको आयात हेर्दा खाद्यान्नमा ६ दशमलव ९ प्रतिशत, दाल तथा गेडागुडीमा १४ दशमलव ४ प्रतिशत, तरकारी ४ प्रतिशत र फलफुलमा ३८ दशमलव १ प्रतिशतले आयात बृद्धि भएको छ ।
देशमा रहेको खाद्यान्न स्टकको अवस्था
सरकारले लकडाउन सुरु भएदेखि नै पटक पटक खाद्यान्न अभाव नहुने र पर्याप्त स्टक रहेको जानकारी दिँदै आएको छ ।
हालसम्म सरकार र नीजि क्षेत्रसँग गरेर १ लाख ३८ हजार ३ सय ४ मेट्रिक टन धान चामल स्टक रहेकोछ । १ लाख २१ हजार मेट्रिक टन नुन स्टकमा रहेको छ । चीनी ३८ हजार ५ सय ७४ मेट्रिक टन, फापर ६५, गहुँ ५ सय ५९, दाल तथा गेडागुडी १६ हजार १ सय ४४ मेट्रिक टन स्टकमा रहेको छ ।
यस्तै खानेतेल ८३ हजार ९ सय ६७ मेट्रिक टन र राहतको लागि खाद्यान्न ८ हजार ७ सय ७९ मेट्रिक टन बाँकी रहेको छ ।