धनगढी, २५ जेठ । धनगढीको कोरोना अस्पतालका शैया खाली छन् । तर कोरोना संक्रमितहरु भने विद्यालयको क्वारेन्टाईनमा बस्न बाध्य छन् । कोरोना अस्पतालका ४० बेड मध्ये २३ बेडमा संक्रमित छन् ।
१३ बेड अझै खाली छन् । तर धनगढी उपमहानगरपालिका भित्रै दुई जना संक्रमित क्वारेन्टाईनमा बस्न बाध्य छन् । उनीहरु विद्यालयमा रहरले भने बसेका होईनन, अस्पतालले नै उनीहरुमा लक्षण नदेखिएको भन्दै फिर्ता गरिदिएपछि विद्यालयमा बस्न बाध्य भएका हुन् ।
धनगढी उपमहानगरपालिका– १४ फुलवारीस्थित क्वारेन्टाईनमा बसिरहेका भारतको दिल्लीबाट आएका दुई परिवारका दुई जनामा बिहीवार कोरोना पोजेटिभ देखियो । शुक्रवार दिउसो करीव १२ बजे उनीहरु एम्बुलेन्समा धनगढीस्थित कोरोना अस्पताल आईपुगे ।
तर चिकित्सकहरुले उनीहरुलाई एम्बुलेन्सबाट झर्न नदिएर कोरोनाको लक्षण नभएको भन्दै जहाँबाट आएको हो, त्यही फर्किन भनियो । र उनीहरु फर्केर विद्यालयकै क्वारेन्टाईनमा पुगे । बिहीवार देखि फुलवारीको पञ्चोदय माध्यामिक विद्यालयमा बसिरहेका उनीहरुलाई अहिलेसम्म कुनै चिकित्सक वा स्वास्थ्यकर्मीले हेरेको छैन ।
कतिसम्म भने उनीहरुसंग तातो पानी तताएर खानलाई पानी तताउने भाडोसम्म थिएन । तर कोरोनाको उपचारमा संलग्न चिकित्सकहरुले भने पीसीआर परीक्षणमा पोजेटिभ पाईएपनि लक्षण भएकाहरुलाई कोरोना अस्पतालमा भर्ना गरेर उपचार गर्ने गरिएको बताएका छन् ।
एक चिकित्सकले भने, कोरोना पोजेटिभ पाईएका तर लक्षण नदेखिएका संक्रमितहरुलाई जुन क्वारेन्टाईन बस्दै आएका छन्, त्यही आईसोलेसन वार्ड बनाएर राख्न थालिएको छ ।