सुखड २२ जेठ- कोरोना भाइरसको संक्रमण फैलिएसँगै भारत तथा नेपालका बिभिन्न स्थानबाट ठूलो संख्यामा नेपालीहरू स्वदेश फर्किरहेका छन्। कैलालीमा पनि भारतबाट भित्रिनेको संख्या ठूलो छ। दिनहुँ जिल्लाका बिभिन्न नाका भएर भारतबाट दैनिक हजारौंको संख्यामा सर्वसाधारण भित्रिरहेका छन्। त्यसरी भित्रिने नागरिकलाई स्थानीय पालिकाहरूले निर्माण गरेका क्वारेन्टाइन राख्दै आएका छन्। उनीहरूलाई क्वारेन्टाइनमा राखिएको भएपनि उचित व्यवस्थापन भने गर्न सकिएको छैन। दैनिक ठूलो संख्यामा भारतबाट आउने क्रम नरोकिएपछि स्थानीय पालिकाहरूका लागि व्यवस्थापनको पाटो चुनौतिपूर्ण बन्दै गएको छ। कैलालीको जोशीपुर गाउँपालिकामा हालसम्म क्वारेन्टाइनमा बस्नेको संख्या ७ सय ३६ पुगेको छ।
पालिकाले निर्माण गरेका २१ वटा क्वारेन्टाइनमा पुरुष ५ सय ७१ जना र महिला १ सय ६५ जना रहेका छन्। उनिहरूलाई ७ वटा वडामा रहेका विभिन्न विद्यालयका क्वारेन्टाइनमा राखिएको छ। भारत तथा नेपालका विभिन्न जिल्लाबाट घर फर्किएका उनिहरूलाई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ। क्वारेन्टाइन व्यवस्थापनका लागि जेष्ठ १४ गते बसेको कार्यपालिकाको बैठकले वडा रहेका विद्यालयलाई क्वारेन्टाइन निर्णय गरेको थियो। तर, भारतबाट ठूलो संख्यामा नेपालीहरू आउँदा गाउँपालिकाले व्यवस्थापन गर्न सकेको छैन। आवश्यकता अनुसार क्वारेन्टाइन सञ्चालन तथा त्यसको खर्च पालिकाले नै व्यहोर्ने निर्णय गरिएको भएपनि त्यो लागुहुन सकेको छैन।
जसले गर्दा क्वारेन्टाइनमा रहेका नागरिकहरूले खानादेखि बिस्तारासम्म घरको प्रयोग गर्ने गरेका छन्। जसले गर्दा गाउँपालिकामा कोरोनाको उच्च जोखिम रहेको स्थानीयको गुनासो छ। जोशीपुर गाउँपालिका १ महोन्याल माध्यामिक विद्यालयमा ७६ जना आश्रय लिइरहेका छन्। क्वारेन्टाइनमा खानेपानी, खानाको साथै सुत्नको राम्रो व्यवस्थापन नहुँदा आफूहरू समस्यामा परेको सोही विद्यालयको क्वारेन्टाइनमा आश्रय लिइरहेका तुल्सी देबी बिकले बताइन्। सामाजिक दूरी कायम गर्दै क्वारेन्टाइनना बस्नु पर्ने भएपनि बाध्यताले एउटै कोठामा ५ देखी ८ जना बस्नु परेको उनको गुनासो छ। ’सुत्ने कोठामा झुल पनि छैन, घरबाट खाना, झुल, सुत्ने विस्ताराहरू ल्याएर बस्नु परेको छ’, उनले भनिन्।
पालिकाले सेनेटाइजर दिए पनि मास्क, पन्जाहरू आफै भारतबाट स्वदेश फर्किदा किनेको उनले बताइन्। ’न त सरसफाइ छ, नत राम्रोसँग चेक जाँच भइरहेको छ, हामीलाई त झन रोग लाग्ने पो डर छ’, क्वारेन्टाइनमै रहेका मेख बिकले भने। आफूहरूकोप्रति जनप्रतिनिहरू बेखवर जस्तै बनेको विकले गुनासो गरे। वडा नम्बर( ६ मा रहेको राष्ट्रिय आधारभुत विद्यालयमा ६४ जनालाई राखिएको छ। क्वारेन्टाइनमा बस्न आफूलाई निकै समस्या हुने गरेको सोही विद्यालयको क्वारेन्टाइनमा बसेका हेमन्त जोशीले बताए। क्वारेन्टाइनमा झुल, बिस्तारा, खानाको राम्रो व्यवस्था, चेकजाँच र राम्रो सरसफाई हुने पर्ने हो तर त्यस्तो नभएको उनले बताए। घर बाट खाना, सुन्ने बिस्तारा ल्याएर दिन कटाइरहेको उनको भनाई छ। एउटै कोठामा ५ देखी १० जनासम्म बस्नु परेको र कुनै सामाजिक दूरी पनि कायम नभएको हेमन्त जोशीले बताए।
यसले गर्दा स्वच्छ व्यक्ति पनि झन संक्रमण हुने सम्भावना बढी रहेको उनले बताए। खानसमेत घरबाट ल्याउने भएकाले क्वारेन्टाइनमा बस्नु र नबस्नुको कुनै अर्थ नभएको उनको भनाई छ। घरपरिवारले खाना पु(याउन आउँदा उनीहरूलाई पनि संक्रमण हुने होकि भन्ने चिन्ताले सताएको जोशीले बताए। पर्याप्त समय नहुदा राम्रो सँग व्यवस्थापन गर्न नपाइएको र अझ धेरै मानिसहरू आउने हुँदा राख्नको लागि उचित संरचनासमेत नभएको वडा नम्बर ६ का वडा अध्यक्ष नत्थु प्रसाद चौधरीले बताए। तर, पनि क्वारेन्टाइनमा बसेकाहरूलाई मास्क, सेनेटाइजर र साबनु दिने काम गरिरहेको उनको भनाई छ।
यता जोशीपुर गाउँपालिकी उपाअध्यक्ष गिता कठरियाले भने क्वारेन्टाइनमा बसेकाहरूलाई खाना खुवाउनका लागी खाना बनाउने मान्छे नै नपाएको प्रतिकृया दिइन्। सुरुमा थोरै संख्या हुँदा उनीहरूलाई क्वारेन्टाईनमै खानाको व्यवस्था गरिए पनि अहिले दिन प्रतिदिन संख्या बढ्दै गएपछि उनीहरूलाई घरबाट नै खाना खुवाउने ब्यवस्था गरेको उनले बताइन्। गाउँपालिकाले झुल, ओढ्ने ओछ्याउन दिँदापछि आउने व्यक्तिहरूले उक्त प्रयोग गरेको प्रयोग नगरेको हुँदा गाउँपालिको यस्तो निर्णय गर्नु परेको उपाअध्यक्ष चौधरी बताइन्। क्वारेन्टाइनमा बसेकाहरूले आफै झुल, ओढ्ने ओछ्याउने घरबाट ल्याएर बस्दा सुरक्षित हुने उनले बताइन्।
दैनिक जसो सीमामा रहेका आफ्ना नागरिकलाई लिन पालिकाले सवारिसाधन पठाउने गरेको उनको भनाइछ। उनले सीमा क्षेत्रमा आएका आफ्ना नागरिक ल्याउन र उनिहरूलाई क्वारेन्टाइनमा व्यवस्थापन गर्न लागिरहेको बताइन्। पालिकाको ७ वटै वडामा वडामा क्वारेन्टाइन व्यवस्थापनका लागी वडाध्यक्षको संयोजकत्वमा अन्य सरोकारवालाहरूलाई समेत खटाइएको र उनीहरूले काम गरिरहेको उपाअध्यक्ष चौधरीको भनाई छ। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, किटको अभाव भएको र जसोतसो भए पनि आफूहरूले क्वारेन्टाइन व्यवस्थापनमा जुटिरहेको उनको भनाई छ। हामीले जति सक्दो राम्रो गर्ने प्रयास गरेको र स्रोत साधनले थेग्ने जति गर्ने उनले बताइन्।
तर, कैलालीका अधिकाशं पालिकाहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले क्वारेन्टाइन सञ्चालन र व्यवस्थापन गर्न बनेको मापदण्डसहित कार्यविधिलाई लत्याएर काम गरीरहेका छन्। कार्यविधिमा क्वारेन्टाइनमा बस्ने व्यक्तिका लागि दिनमा दुई पटक खाना र खाजा खुवाउने, भारत लगायत विदेशबाट नेपाल भित्रिएका नेपालीलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने, क्वारेन्टाइनमा रहेका व्यक्तिले बाहिरका व्यक्तिसँग भेटघाट गर्नैपर्ने जरूरी परे स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीमा गर्ने, कोही व्यक्ति क्वारेन्टाइनबाट भाग्न कोशिस गरे उसलाई कानुनअनुसार कारबाही गर्ने भनिएको छ। त्यस्तै क्वारेन्टाइनमा बस्ने व्यक्तिले सूर्तिजन्य, नशालु तथा मादक पदार्थ सेवन गर्न नपाउने, क्वारेन्टाइनको सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी खटिने, संचार, स्वास्थ्य, सडक, पानी ,बिजुलीको पुर्ण व्यवस्था भएको हुने कार्यबिधिमा उल्लेख गरीएको छ। जोशीपुरका क्वारेन्टाइनमा त्यो कार्यान्वयन हुन सकेको छैन।