भोज मन्नी
सुखड १८ जेठ- कैलालीको घोडाघोडी नगरपालिका १ का रंग बोहराले डेढ करोड रुपैयाँ बराबरको जग्गा दान गरेका छन् । घोडाघोडी नगरपालिकालाई कृषि हाटबजार बनाउन समस्या भएपछि ५० बर्षिय बोहराले जग्गा दान गरेका हुन् । नगरपालिकालाई कृषि हाटबजार बनाउन जग्गा नहुदा भौतिक संरचना बनाउन समस्या हुनुका साथै किसानले उत्पादित सामग्री डुलाएर बेच्नु पर्ने बाध्यता थियो ।
बोहराले जग्गा दान गरेपछि नगरपालिकालाइ हाट बजार बनाउन सहज भएका घोडाघोडीका युवा समाजसेवी सनेस शाहीले बताए । यस अघि नगरपालिकामा कृषि उपज हाट बजार बनाउन जग्गा नहुदा समस्या हुदै आएको थियो । ‘सुखडमा कृषि हाटबजार बनाउन समस्या भैरहेको सुनेपछि सार्बजनिक कार्यका लागि मैले बजार नजिकै ७ कट्ठा जमिन स्थानीय तहलाई प्रदान गरेको हु’ समाजेवी बोहराले भने – ‘समाज बिकासका लागि सबै एक जुट हुन आवश्यक छ ।’
कृषकहरुको उत्पादनलाई बजारीकरण गरी मानिसहरुलाई कृषि पेशा तर्फ आकर्षित गराउने उद्देश्यले बनाइएको कृषि संकलन केन्द्र निर्माणको लामो समयपछि निर्माण कार्य सुरु भएको छ । बोहराले जग्गा दान दिएपछि अहिले सुखडमा कृषि हाटबाजर निर्माण कार्य सुरु भएको छ ।
कृषि हाटबजार निर्माण भएपछि उत्पादन गरेका बस्तुहरुलाइ बिक्रीवितरण गर्न सजिलो हुने भएको छ । ‘जमिन नपाएपछि कृषि हाटबाजर निर्माण गर्न समस्या भएको थियो’ घोडाघोडी नगरपालिका वडा नं. १ का वडाध्यक्ष मनराज शाहीले भने– ‘फ्रिज हुन लागेको बजेट प्रयोग भएको छ । ’ आर्थिक बर्ष २०७४/०७५ मा घोडाघोडी नगरपालिका कृषि शाखाको १३ लाख रकमबाट उक्त संकलन केन्द्रको निर्माण गरिन लागेको छ ।