भोज मन्नी
मसुरिया १७ जेठ- घर लिपपोत गर्नका लागि माटो खन्दै गर्दा माथिबाट खसेको ढिस्कोले पुरिएर एक जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् । शनिबार बिहान सवा ९ बजे माटो खन्दै गर्दा गौरीगंगा नगरपालिका–७, बसन्त टोलका १७ भुवन बोहराको मृत्यु भएको छ भने सोही ठाउँकी ४० वर्षिया दुर्गादेवी मन्नी घाइते भएकी हुन् ।
गौरीगंगा–८, स्थित गौरी गणेश सामुदायिक वनमा माटो खन्ने क्रममा माथिबाट आएको ढिस्कोले पुरिएका उनीहरुलाई स्थानीयले उद्धार गरेका थिए । घाइते दुवैलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो । उपचारकै क्रममा घाइते भुवनको बिहान साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको डिएसपी दक्षकुमार बस्नेतले बताए । घाइते दुर्गादेवीको भने सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।