आफै काटिन पो रहेछ खुकुरी निर्माण गर्दै रहेँ।
पापी शोषकले गरे नि जसको हत्या त्यही सीपले।।
म्यादै गुजृसके ति क्रान्ति र सिपाहीका हिजो आज त।
सक्तैनन् ती बराबरी सब भएका हौं भनी आपत्तिमा।
अत्याचार बढी विभेद जगमा कानून खोजी भयो।
बर्षौं देखि सहेर ऐन पिजडामा पीडितै भेटियो।।
के अर्थै छ अजीत मिजार अनि माया प्रेममा जो सुकै।
हत्या गर्न सके, ति जात तहको प्रथा बचाए खुबै।।
माया प्रेम कथा ति नायक रहेनन् लाज भो देशको।
पाखण्डीहरुले हरे अनि त प्राणै लुछेको सत्य हो।।
कस्तो यो रित हो यहाँ जीवनमा बाँच्नै त भो मुश्किल।
देख्दैनौ सरकारले जुलुम अन्यायी समीपै तिर।।
नङ्गाई सब जातवाद नवराजैले दिए प्राणले।
सल्कीदै छ नि रुकुम जिल्ला आहुती बाणले ।
जातैको तहमा घृणा अति भो धर्मा्धिकारी हरु।
निन्द्राबाट तिमी छिटो त अब जागी छोड जिद्दी बरु।।
नेस्तानाबुद वर्ण विसंगति गर्नै तिम्रो छ कर्तव्य अति।
बेलामा चुप लाग्न छोड यसरी होला नि ज्यादै खति।।
आफ्नै धर्म दुखाउदै छ मन यो, त्यो ओखती चाहियो।
अन्यायी अति घोर भै खति गरे हत्या नवराजको।।