धनगढी, १२ जेठ । भारतबाट आएका नेपालीहरुलाई खाना पानी उपलब्ध गराउने अभियान अन्तर्गत आज करीव दुई हजार जनालाई खाना र पानी उपलब्ध गराईएको छ । एक सातादेखि जारी अभियान अन्तर्गत आज पनि भारतबाट आएका नेपालीलाई धनगढीको सीमा क्षेत्रमा खाना र पानी वितरण गरिएको हो ।
यो अभियान अन्तर्गत आज आरपी मोर्डन ईण्डष्ट्रिजका सञ्चालक राजकुमार अग्रवालका तर्फबाट एक हजार जनालाई, कैलाली हार्डवेयर संघका तर्फबाट पाँच सय जनालाई, नेपाल टेलिकम क्षेत्रीय कार्यालय अत्तरीयाका लेखा प्रमुख शिला भण्डारी र धनगढी उपमहानगरपालिका–२ सन्तोषीटोलका महेश जोशीका तर्फबाट दुई सय जनालाई खाना तथा पानी वितरण गरिएको हो ।
जोशीले छोराको पास्नीको खर्च कटौती गरेर भारतबाट नेपालीहरुको खाना र पानीका लागि सहयोग गरेका हुन् । अभियानमा सहयोग गर्ने हार्डवेयर संघका अध्यक्ष सुरेन्द्र राठी, महासचिव कुवेर शाही लगायत संघका पदाधिकारी, आरपी बेकरी तथा आरपी मोर्डन ईण्डष्ट्रिजका सञ्चालक आदित्य अग्रवाल खाना वितरणमा सहभागी भए ।
भारतबाट भोकै आएका नेपालीहरुलाई खाना तथा वितरण गरिरहेको दृष्य तथा समाचार पढेर मनकारी व्यक्तिहरुले स्वर्फुतढंगले यो अभियानमा सहभागिता जनाएका हुन् । नेपालीहरुलाई सीमा क्षेत्रमा खाना र पानी खुवाउने अभियानबाट प्रभावित भएर वेष्र्टन फार्मेसीका सञ्चालक प्रमोद शर्माले एक हजार जनालाई खाना खुवाउन आर्थिक सहयोग गरेका छन् । त्यस्तै एक बैंकमा कार्यरत अफिसरले नाम नखुलाउने गरी यो अभियानमा १५ हजार रुपैया सहयोग गरेका छन् ।
त्यस्तै राउण्ड टेबल धनगढी अत्तरीयाले दुई हजार जनालाई खाना खुवाउन सहयोग गरेको छ । धनगढीका एक निर्माण व्यवसायीले नाम नखुलाउने गरी सय कार्टुन मिनरल वाटरका लागि रकम उपलब्ध गराएका छन् ।
त्यस्तै अनमोल विश्वास सुसेन्टरका सञ्चालक शरद रावलले भारतबाट आउने नेपालीहरुलाई पानी वितरणका लागि पाँच हजार रुपैया उपलब्ध गराएका छन् ।
धनगढी भन्दा बाहिरका व्यक्तिहरुले पनि यो अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । समाजसेवी श्याम तायलको अगुवाईमा शुरु भएको यो अभियानमा चौलानी डिपार्टमेण्टल स्टोरका सञ्चालक मानसिंह साउँद तथा कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा लगायतका व्यक्तिहरुको सहभागिता रहेको छ । अभियानको संयोजन दीर्घराज उपाध्यायले गरिरहेका छन् । कम्तिमा ५० हजार नेपालीलाई खाना खुवाउने लक्ष्य राखेर यो अभियान शुरु गरिएको तायलले बताए ।
सीमामा नेपालीहरु भोक र प्यासले तडपिएको देखेपछि हामीले कसैको सहयोग नलिएरै यो अभियान शुरु गरेका हौ, तायलले भने, तर यो अभियानबाट प्रभावित भएर धेरै मनकारी व्यक्तिहरु हामीसंग जोडिनु भएको छ । उहाँहरु यो अभियानमा प्रत्यक्ष रुपमा जोडिएर सहयोग गर्न सक्नुहुन्छ । नेपालीहरुलाई खाना उपलब्ध गराउन चौलानी होटलमा मेस सञ्चालनमा छ । आवश्यकताका आधारमा खाना पकाउने गरी सञ्चालित मेसले दैनिक पाँच हजार जनालाई खाना पकाउने गरी जनशक्ति र खाद्य सामग्रीको व्यवस्थापन गरिएको छ ।
समाजसेवी तायलले भारतबाट नेपालीहरु आउनेक्रम जारी रहेसम्म खाना र पानी अभियान जारी रहने बताए । खाना प्याकिङ र वितरण मारवाडी युवा मञ्च, राउण्ड टेबल धनगढी अत्तरीयाका पदाधिकारीहरुको सक्रिय सहभागिता रहेको छ ।