धनगढी, १२ जेठ- कोरोना भाईरस(कोडिभ १९) रोकथामका लागि (नेपाल–भारत) दुवै देशमा लकडाउन गरिएको छ । कोरोना संक्रमण फैलिन नदिन तीन महिनादेखि लकडाउनका साथै सीमा क्षेत्रमा आवत जावत समेत पूर्ण बन्द गरिएको छ ।
दुवै देशमा रोजगारीमा रहेका नागरिक स्वदेश फर्किन बाहेक सीमा क्षेत्रमा आम सर्वसाधारणको आउजाउ छैन् । तर कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा एक नेपालीको घरको खोरबाट भारतीय नागरिकले बाख्रा चोरेर भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले नेपाली नागरिकको घरमा पालेको बाख्रा चोरीरहेकै अवस्थामा पक्राउ गरेको हो ।
गएराती बेलौरी नगरपालिका ७ पहुलाका नेपाली नागरिक स्थानीय प्रदेशी चौधरीको खोरबाट बाख्रा चोरेर भारततर्फ लगिरहेको अवस्थामा भारतको तिल्ला नम्बर ४ बस्ने मंखन सिहलाई पक्राउ गरिएको थियो । सीमा क्षेत्रबाटै भारतीय बाख्रा चोर सशस्त्र प्रहरीको फन्दामा आएको स्थानीय एव रेडियो सुदूर संचारका पत्रकार दिनेश चौधरीले बताए । उनका अनुसार बाख्रा धनीलाई बाख्रा फिर्ता र चोरलाई प्रहरीलाई बुझाउने तयारी भईरहेको छ । सिहसंगै अन्य तीन जना भागेका थिए । थप कार्बाहीका लागि बाख्रा चोरलाई सशस्त्र प्रहरीले ईप्रका बेलौरीमा बुझाउने जनाईएको छ । भारतीय नागरिकले नेपालीका पशुजन्य बस्तु चोरी गर्न थालेपछि सीमा क्षेत्रमा स्थानीय त्रसित भएका छन् ।