धनगढी : ४० दिनपछि सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका नयाँ संक्रमित भेटिएपछि उनीहरुलाई अस्पतालको आइसोलेसनमा लगिदै छ। आज एकै दिन सुदूरपश्चिमका तीन जिल्लाका ५ जनामा कोरोना पुष्टि भएपछि उनीहरुलाई अस्पताल लैजान थालिएको हो।
कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ बर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका वडा नम्वर १० का २८ बर्षीय युवक र बैतडीको शिवनाथ गाउँपालिकाका २२ बर्षीय य्ुवकमा कोरोना पुष्टि भएको थियो।
सबै संक्रमितलाई सेती प्रादेशिक अस्पतालमा ल्याउने तयारी भएपनि उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएकाले सम्बन्धित क्षेत्रकै अस्पतालमा भर्ना गर्न थालिएको छ। कैलालीका तीन जना संक्रमितलाई टीकापुर अस्पताल लगिएको जानकी गाउँपालिकाकी उपाध्यक्ष उमा महत्तोले जानकारी दिईन्।
यस्तै डडेल्धुराका २८ बर्षीय संक्रमितलाई पनि डडेल्धुरा अस्पतालकै आईसोलेसनमा राखिने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए। बैतडीका संक्रमितलाई पनि जिल्ला अस्पतालमै राखिने स्वास्थ्य कार्यालयले जनाएको छ।
सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो।
धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, कैलाली लम्कीका २१ बर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। बैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो। सुदूरपश्चिमका ५ जना संक्रमितले कोरोनालाई जितिसकेका छन्।