धनगढी, ८ जेठ- डोटीमा मिनि ट्रक दुर्घटना हुँदा चार जना गम्भीर घाईते भएका छन । बोगटान गाउँपालिका वडा नम्बर ७ मा निर्माणाधीन मौरासेन सेती हाईड्रो पावरका कामदार ल्याएर आउदै गरेका बा २ क २७३९ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा चार जना घाईते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घाईते हुनेमा निर्माण व्यवसायी समेत रहेका बाँकेको राजापुर २ का ५० वर्षीय शान्त मल्ल, भारतको हससोलका ५५ वर्षीय किशोर सिह, बाँकेको गुरुवा गाउँपालिका ५ बयलपुरका चालक ३० वर्षीय रमाल वाया र रामेछाप लिखु गाउँपालिका ६ का १९ वर्षीय भोजनारायण श्रेष्ठ रहेका छन ।
उनीहरु मध्ये निर्माण व्यवसायी मल्लको दाहिने खुट्टा भाचिएको छ भने छातीमा गम्भीर चोट लागेको छ ।
यस्तै भारतका सिहको अवस्था पनि गम्भीर रहेको छ । उनको बाया खुट्टा, टाउको र छातीमा चोट लागेको छ । गम्भीर अवस्थाका दुई जना सहित चारै जनालाई थप उपचारका हेलिकोप्टर मार्फत उद्धार गरी सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए । जिल्ला प्रशासनको पहलमा माउण्ट एभरेष्टको निजि हेलिकोप्टर मार्फत उद्धार गरिएको बोहराले बताए ।