धनगढी, ४ जेठ- धनगढी उपमहानगरपलिकाले बितरण गरेको कुहिएको राहतकाको चमलमा रश्मी ट्रेड कन्सर्न धनगढीको रहेको तथ्य भेटिएको छ । यतीखेर धनगढीमा यस बिषयले ब्यापक चर्चा पाएको छ । हामीले यस विषयमा बिस्तृत अध्यन सहित चामलको बिषयमा थप तथ्य सार्बजनिक गरेका छौ ।
उपमहानगरपालिकाले राहतका लागि चामल आपुर्ती गर्न ठाकुर ट्रेड लिंक संग गत बैशाख १५ गते ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता अनुसार सम्झौता भएको २४ घण्टा भित्र सम्बन्धित वडामा चामल आपुर्ति गर्नुपर्ने सहमति भएको थियो । उपमहानरपालिको १९ वटा वडामा चाडै पुगाउनु पर्ने र आफु संग चामल अपुग भएपछि ठाकुर ट्रेड लिंकले रश्मी ट्रेड कन्सर्न धनगढीबाट १५ सय कुन्टल चामल रश्मी ट्रेड कन्सर्नको बिल नम्बर ३१७७, ,३१७८,३१७९,३१८०र ३१८१ वाट खरिद गरि सम्झौता अनुसारको आबश्यक मात्रा पुरा गरेको ठाकुर ट्रेड लिंकका संचालक हरिशंकर ठाकुरले बताए ।
रश्मी ट्रेड कन्सर्नबाट आपुर्ति गरेको चमल १५ किलोका चामलका व्याग नै कुहिएको पाईएको छानविन समितिले तथ्य भेटिएको छानबिन समितिका एक सदस्यले नाम नाखोल्ने शर्तमा बताए । उप–महानगरपालिकाले दुई करोड ६१ लाखमा तीन हजार तीन सय क्वीन्टल चामल, ८ सय क्वीन्टल दाल लगायतका समाग्री खरिदका लागि ठेक्का गरेको थियो ।
हेर्नुहोस् ठाकुर ट्रेडलिंकले रश्मी ट्रेड कन्सर्नबाट गरेको विल

ठाकुर ट्रेड लिंकले टेन्डर मार्फत अपुर्तीको जिम्मा पाएको भए पनि खराब सबै चामल रश्मी ट्रेड कन्सनबाट आपुर्ती भएको पाईएको हो ।
ठेक्का सम्झौता अनुसारको चामल समयमै उपमहानगरपालिकालाई उपलब्ध गराउनु पर्ने भएकाले आफुसंग प्रयाप्त चामल नभएपछि रश्मी ट्रेड कन्सनबाट चामल लिएको पाईएको हो ।
उपमहानगरपालिकाले बितरण गरेको अधिकांस १५ किलोग्रामको चामल कुहिएको भेटिएको छानबिन समितिका एक सदस्यले बताए । ठाकुर ट्रेड लिंकले उत्पादन गरेको चामल भने कुहिएको नभेटिएको दाबी गरिएको छ । पछिल्लो समयमा लकडाउनका कारण दैनिक जीवनयापन गर्न समस्या भएकाहरुलाई धनगढी उपमहानगरपालिकाले बितरण गरेको चामल कुहिएको भेटिएको थियो ।
सञ्चार माध्यममा समाचारका आधारमा अख्तियारको छानबिन
अहिले धनगढी उप–महानगरपालिकाले राहतमा कुहिएको चामल वितरण गरेको प्रकरणमा अख्तियारले विस्तृत अनुसन्धान गरिरहेको छ । अख्तियार स्रोतका अनुसार प्रारम्भीक अनुसन्धानका क्रममा उप–महानगरपालिकाले ‘राहत वितरणमा अनियमितता’ गरेको उजुरी कायम गरिएको छ । ‘सञ्चार माध्यममा आएका समाचारलाई आधार मान्दै अख्तियारले उप–महानगरपालिका कार्यालयमा गई खरिद प्रक्रियाका सबै कागजपत्रको प्रमाणित प्रतिलिपी लिईएको छ । अख्तियारले जेठ १ गते धनगढी उप–महानगरपालिकामा अनुगमन गरी खरिद प्रक्रियाका सबै कागजात लगेको अख्तिायार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता टोपबहादुर विष्टले बताएका छन् । धनगढी उप–महानगरपालिकाले कोरोना भाईरसको महामारीपछि प्रभावित भएकाहरुलाई वितरण गरेको चामल कुहिएको भेटिएपछि विवाद भएको थियो ।
ठेक्का सम्झौतामा कोको थिए साँक्षी

राहत सामग्रीको आपुर्ति गर्नका लागि धनगढी उपमहानगरपालिका र ठाकुर ट्रेड लिंक बिच सम्झौता गर्न उपमहानगरपालिका तर्फबाट प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद सापकोटा थिए भने ठाकुर ट्रेड लिंकबाट संचालक हरिशंकर ठाकुर बिच हस्ताक्षर भएको थियो । ठेक्का सम्झौतामा दुबै पक्ष गरी ७ जना साँक्षी रहेका थिए । उपमहानगरपालिकाको तर्फबाट लेखा अधिकृत डिल्लीराज ओझा, खरिद इकाई प्रमुख सुरेन्द्र कार्की, सरस्वती जोशी, योगेन्द्र बहादुर चन्द र कृष्ण प्रशाद जोशी रहेका थिए भने आपुर्ति पक्षबाट रश्मी ट्रेड सप्लायर्सका संचालक मनोज अग्रवाल र केश भण्डारी रहेका छन् । उनीहरु बिच बैशाख १५ गते बेलुका ३ बजे भएको खरिद सम्झौता पत्रमा मिति र समय उल्लेख रहेको छ ।
धनगढीमा राहतको चामल आपूर्ति गर्ने फर्मलाई दुई लाख जरिवाना

धनगढी उप–महानगरपालिकालाई राहतको चामल आपूर्ति गर्ने फर्मलाई दुई लाख जरिवाना गरिएको छ । उप–महानगरपालिकालाई खाद्यान्न आपूर्ति गर्ने ठाकुर ट्रेड लिंकलाई दुई लाख जरिवाना गरिएको हो ।
राहतको चामल कुहिएको फेला परेपछि जिल्लास्थित अनुगमन समितिले आपूर्तीकलाई दुई लाख जरिवाना गरेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीका सूचना अधिकारी दीपक कुँवरले बताए ।
कुवँरले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार गुणस्तरहीन वस्तु वा सेवा प्रदान गरेबाफत २ लाख रुपैयाँ जरिवाना गरिएको जानकारी दिए । सो आपूर्तिकर्ताले आपूर्ति गरेको वस्तु वितरण नगर्ने गरी रोक्का गरिएको जनाइएको छ । धनगढी उपमहानगरपालिकाले २ करोड ६१ लाखमा ३ हजार ३०० क्वीन्टल चामल, ८०० क्वीन्टल दाल लगायतका खाद्य सामाग्री खरिदका लागि ठाकुर ट्रेडसँग ठेक्का सम्झौता गरेको थियो ।
धनगढीमा सबै वडामा राहत वितरण स्थगित
धनगढीका १९ वटै वडामा राहत वितरण कार्य रोकिएको छ । धनगढी उप–महानगरपालिकाले विज्ञप्ती निकाल्दै राहत वितरण तत्कालका लागि राहत वितरण स्थगित गरिएको जानकारी दिएको हो । उप–महानगरपालिकाले विज्ञप्ती जारी गदै खरिद प्रक्रियाको विषयमा छानविन भईरहेको र तत्कालनका लागि वितरणको कार्य स्थगित गरिएको जनाएको छ ।
दोषीलाई कार्वाही गर्छौ : नगरप्रमुख
पछिल्लो समयमा धनगढी उपमहानगरपलिकामा रहत बितरणको केही चामल गुणस्तरहिन भईसके पछि दोषीलाई कार्वाही गर्ने धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप बहादुर वडले बताएका छन् । नगरपालिकाले गुणस्तरिय खाद्यन्न सामाग्री आपुर्ती गर्न ठेक्का सम्झौता गरेको भए पनि कसका कमजोरीले गल्ती भयो, दोषीलाई कार्वाही गरिने वडको भनाई छ । छानविन समिति बनाएर छनविन भईरहेको बताउदै नगर प्रमुख वडले छानबिन समितिको प्रतिवेदनका आधारमा कार्वाही गरिन्छ ।
घटनाले राहत पाउनबाट बञ्चीत बनायो : मजदुर
राहत वितरणमा समस्या सिर्जना भएपछि त्यसको मार मजदुरहरुलाई परेको छ । यस घटनाले आफुहरुलाई राहत पाउनबाट बञ्चीत गराएको आरोप लगाएका छन् । राहत पाउने भन्दा नपाउनेले लफडा गरेको मजदुरहरुको गुनासो छ । उप–महानगरपालिकाले १६ वटा वडामा वितरण गरेपछि वडा नं ४ का वितरण गरिएको १५ किलोको प्याकमा किरा भएको चामल भेटिएको थियो । त्यसपछि राहत वितरणको काम रोकिएको छ ।