म्याड्रिड — स्पेनमा १७ दिनपछि कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या घटेको छ । पछिल्लो २४ घण्टामा स्पेनमा थप ६ सय ५ जनाको मृत्यु भएको हो । यो मार्च २४ पछिकै कम संख्या हो । त्यसैगरी नयाँ संक्रमित संख्यामा पनि ३ प्रतिशतले कमी आएको छ । बिहीबार स्पेनमा ४ हजार ५ सय ७६ थप संक्रमित पुष्टि भएका थिए । यो संख्या स्पेनमा संक्रमण देखिएयताकै सबैभन्दा कम हो ।
कोभिड–१९ का कारण मृत्यु हुनेको आधारमा स्पेन अति प्रभावितमध्ये दोस्रो स्थानमा छ । पहिलो स्थानमा इटाली छ । स्पेनमा हालसम्म १५ हजार ८४३ जनाको मृत्यु भइसकेको छ भने १ लाख ५७ हजार २२ जना संक्रमित भएका छन् । हालसम्म ५५ हजारभन्दा बढी संक्रमित निको भएका छन् ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्पेनमा मार्च १४ बाट आपत्काल घोषणा गरिए पनि अप्रिल महिनाको सुरुआतसँगै मृतक संख्या ह्वात्तै बढेको थियो ।