रोम — कोरोना भाइरस९कोभिड–१९० को संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । इटालीको सिभिल प्रोटेक्सनका अनुसार शनिबार मात्रै थप ८८९ जनाको मृत्यु भएको छ ।
सियाटलमा कोरोनाबाहेकका बिरामीलाई उपचार गर्न बनाउन लागिएको फिल्ड अस्पतालमा वासिंङ्टनका गभर्नर जे इन्स्ली सामाजिक दूरी कायम राख्दै अमेरिकी सेनासँग तस्बिर स् रोयटर्स
आइतबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या १० हजार २३ पुगेको छ । पछिल्लो २४ घण्टामा इटालीमा थप ५ हजार ९ सय ७४ जनामा संक्रमण देखिएको छ । इटालीमा संक्रमितको संख्या ९२ हजार ४ सय ७२ पुगेको छ ।
त्यस्तै अमेरिकामा पनि पछिल्लो २४ घण्टामा संक्रमित र मृत्यु हुनेको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ५१५ जनाको मृत्यु भएको छ भने थप १९ हजार ३ सय २ जनामा संक्रमण देखिएको छ । आइतबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २ सय ११ पुगेको छ भने संक्रमितको सख्या एक लाख २३ हजार नाघेको छ । विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित भएको अमेरिकाले शुक्रबार मात्रै २० खर्बको राहत प्याकेज घोषणा गरेको छ ।
अमेरिकाका विभिन्न राज्यका गभर्नरले पर्याप्त मेडिकल उपकरण तथा औषधि नभएकाले स्थिति अझ भयावह बन्न सक्ने चेतावनी दिँदै आएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा स्पेनमा पनि थप ८४४ जनाको मृत्यु भएको छ भने थप ७ हजार ५ सयभन्दा बढीमा संक्रमण देखिएको छ । आइतबार बिहानसम्म स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ९ सय ८२ पुगेको छ भने संक्रमितको संख्या ७३ हजार २ सय ३५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा फ्रान्समा ३२४, बेलायतमा २६०, इरानमा १३९, जर्मनीमा ८२,नेदरल्यान्ड्समा ९३, बेल्जियममा ६४ र स्विजरल्यान्डमा ३३ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा विश्वका विभिन्न देशमा गरी थप ३ हजार ५ सय ६ जनाको मृत्यु भएको छ भने ६६ हजारभन्दा बढी संक्रमित भएका छन् ।
विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ३० हजार ८ सय ५० जनाको मृत्यु भइसकेको छ । त्यस्तै ६ लाख ६२ हजारभन्दा बढी संक्रमित भएका छन् भने करिब एक लाख ४२ हजार निको भएका छन् ।